काठमाडौं ३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनुभएको छ ।उहाँले दिउँसो चार बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राष्ट्रपतिले दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको हो ।दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि, सत्तारुढ दल एमाले विभाजन उन्मुख भएको अवस्था र सत्ता समीकरण सङ्घर्षकाबीच बस्न लागेको यो बैठकलाई महत्त्वकासाथ हेरिएको छ ।
पूर्वप्रधानमन्त्रीसहित सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि राजनीतिक दलबीच तिक्तता बढेको थियो ।त्यस्तै गएको फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई एकीकरणअघिकै अवस्थामा पुर्याइदिएपछि वर्तमान सरकारको भविष्य अन्योलमा परेको छ ।








प्रतिक्रिया