तौलिहवा २१ चैत ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने बताउनु भएको छ । कपिलवस्तु सदरमुकाम तौलिहवामा शनिबार आयोजित बृहत पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताउनु भएको हो । नेपाली कांग्रेस प्रधानमन्त्रीको राजिनामा माग्दै नयाँ सरकार गठन प्रक्रिया अगाडी बढाउने निर्णय गरे संगै नेपाली राजनीतिले कोल्टे फेरेको उहाको धारणा छ । अब नयाँ सरकारका लागि घनिभूत रुपमा छलफल बढाउने पनि प्रचण्डको भनाई छ ।
त्यस्तै प्रचण्डले लामो संघर्ष र बलिदानीबाट बनेको संविधानमा मधेसी, मुस्लिम, महिला तथा दलितहरुका हक अधिकार सबैलाई समेट्न नसकेकोमा असहमती प्रकट गर्दै विस्तारै संशोधन गर्दै जाने समेत बताउनु भयो । तर प्रधानमन्त्री केपी शर्मा वलीले संविधान संशोधन गर्दै परिस्कृत गर्नुको सट्टा ध्वस्त पार्ने खेलमा लागेको प्रचण्डको आरोप छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री मातृका प्रसाद यादवले मधेशी नेतालाइ कुर्ची मोहको उपमा दिनुभएको छ । मधेशको मसिहा भनेर प्रचार गर्ने तर सत्तालिप्त बाहेक अन्य मधेस र मधेसीको लागी मधेसवादी दलले कुनै कार्य नगरेको यादवको टिप्पणी छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री चक्रपाणी खनाल बल्देवले ठुलो वा सानो नभई राम्रो काम गर्नु पर्ने बताउनु भएको छ । जनताको पक्षमा काम गर्दा गर्दै आफुलाई प्रधानमन्त्री ओलीले हटाएको प्रति खनालले दुखेसो पोख्नुभयो । किसान जनताले मल नपाएको अवस्थामा पानी जहाज ल्याउनुको कुनै अर्थ नभएको खनालको टिप्पणी छ ।
अब परिवर्तनका लागि सबै एक हुन बलदेवले आग्रह गर्नु भयो । कार्यक्रममा २ हजार ५ सय १८ जना नेपाली कांगेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, विप्लव समुह लगायतको पार्टी छोडेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दै ईसराउद्दीन मुसलमानले प्रतिमगन शक्ति विरुद्ध लाग्न पार्टी प्रवेश गरेको बताउनु भएको छ ।
प्रतिक्रिया