अर्थ-वाणिज्य

सामुदायिक विद्यालयलाई स्थानीय तहको बस उपहार



रुपन्देही ३० चैत। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका ६ वटा सामुदायिक विद्यालयलाई अनुदानमा बस उपलब्ध गराएको छ।नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै सामुदायिक विद्यालयमा लगानी बढाउँदै लगेको नगरपालिकाले यसअघि बस सेवा नभएका र विद्यार्थी संख्या धेरै भएका विद्यालयलाई बस उपलब्ध गराएको हो।

निजी विद्यालयले घर आँगनमै यातायातका साधन पठाईदिँदा बालबालिकाहरू निजी विद्यालयतर्फ आकर्षित हुने गरेकोले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस प्रदान गरेको नगरपालिकाले जनाएको छ। तिलोत्तमाले यसअघि नगरक्षेत्रका सबै सामुदायिक विद्यालयमा एकै प्रकारको रङ लगाउने र तल्लो तहका विद्यार्थीहरुलाई खाजा कार्यक्रम सुरू गरिसकेको छ। विद्यालयमा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको आकर्षक बढेको भन्दै पछिल्लो पटक बस उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।

आईतबार नगरक्षेत्रभित्र रहेका श्री पशुपति माध्यमिक विद्यालय, श्री शिवपूर माध्यमिक विद्यालय, श्री जनजागृति माध्यमिक विद्यालय, श्री जनता माध्यमिक विद्यालय र श्री जनभावना माध्यमिक विद्यालयलाई एकएक वटा बस प्रदान गरिएको छ। त्यस्तै गिर्वाण माध्यमिक विद्यालयलाई पनि नगरपालिकाले बस प्रदान गरेको छ। नगरपालिकाको १० लाख रूपैया अनुदान र बाँकी सम्बन्धित विद्यालयको गरि भन्सार छुटमा प्रति बस २१ लाख ९५ हजार रुपैयाँमा ल्याईएको नगरपालिकाले जनाएको छ। बसको विमा र कर भने विद्यालयले आफैं बेहोर्नेछन्।

एसएमएल ईसुजु कम्पनीका बसलाई नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विद्यालयका प्राचार्य एवं अध्यक्षलाई हस्तान्तरण गरेका थिए। सो अवसरमा बोल्दै नगरप्रमुख घिमिरेले नगरपालिका र विद्यालयको अनुदान तथा नेपाल सरकारबाट भन्सार छुट गरी ल्याईएका बसलाई व्यवस्थापकीय कौशलताका साथ सञ्चालन गर्न विद्यालयलाई आग्रह गरे। उनले नियमित मर्मत सम्भार, चालक, सह चालकमा अनुशासन नभएमा बसको उपयोग राम्रोसँग नहुने भन्दै विद्यालयले बसको व्यवस्थापनमा गम्भीर भएर लाग्नुपर्ने बताए। उनले टाढाबाट आउने विद्यार्थीको सहजताका लागि बस उपलब्ध गराएको भन्दै सोहि अनुरुप सेवा दिन विद्यालयहरुलाई आग्रह गरे।

नगरप्रमुख घिमिरेले अहिलेका युवा तथा विद्यार्थीहरु सुविधाभोगि बन्दै जाँदा उनीहरू अस्वस्थ बन्दै गएको उल्लेख गर्दै विद्यालय नजिक घर भएका विद्यार्थीहरुलाई भने हिँडेरै विद्यालय जान सुझाव दिए। ‘युवा तथा बालबालिकामा व्यायाम गर्ने, हिँड्डुल गर्ने बानि हराउँदै गएको छ, छोटो दुरीमा समेत सवारी साधनको प्रयोग गर्दा एकातर्फ ट्राफिक जाम बढिरहेको छ भने अर्कोतर्फ शारीरिक स्फूर्ति हराउँदै गएको छ,’ उनले भने।

घरदेखि टाढा विद्यालय भएका विद्यार्थीलाई भने नगरपालिकाले बस उपलब्ध गराएपछि सहज हुने भएको छ। शिवपुर माध्यमिक विदालयका सहायक प्राचार्य केशवराज भण्डारीले टाढाबाट अध्ययनको लागि आउने विद्यार्थी र अभिभावकको बस चढेर विद्यालय आउने ईच्छा पुरा भएको बताए।यातायातको सुविधा नभएको कारण शैक्षिक गतिविधि राम्रो भएपनि अन्यत्र जान बाध्य विद्यार्थीहरु अब भने आफ्नो विद्यालयमा आउने उनले बताए।नगरपालिकामा यसअघि ५ वटा सामुदायिक विद्यालयले यातायात सेवा प्रदान गर्दै आएको छ। आईतबार ६ वटा विद्यालयलाई बस उपलब्ध गराएपछि यातायातको सुविधा रहेका विद्यालयहरुको संख्या ११ पुगेका छन्। 

नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले यसअघि बस सेवा नभएको र विद्यार्थी संख्या बढि रहेका विद्यालयहरुलाई बस उपलब्ध गराईएको जानकारी दिए। ईसुजु र भारतको स्वराज माज्दा कम्पनी एक भई भारतमै निर्माण भएको ४२ सिटे यो बस कम खर्चिलो र विद्यार्थी लक्षित रहेको कम्पनीको दावी छ ।नगरपालिकाले अनुदानमा बस उपलब्ध गराएपनि यसको सञ्चालन र व्यवस्थापन भने चुनौतीपूर्ण रहेको छ। बसको नियमित मर्मतसम्भार, चालक तथा सहचालकको व्यवस्था तथा ईन्धनको व्यवस्थाको लागि विद्यालयहरुको भूमिका महत्वपूर्ण हुने नगरपालिकाको भनाई छ।

 

प्रकाशित : ३० चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६