बुटवल ७ असार ।लुम्बिनी प्रदेश सरकारमा हाल मन्त्री रहेका ४ जना प्रदेश सभा सदस्यले दायर गरेको रिट माथि आज सुनुवाइ हुँदै छ । जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले दायर गरेको रिटमाथि अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ हुन लागेको हो । उक्त मुद्दाको पेशी न्यायधीश दिपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ ।
जनता समाजवादी पार्टीको केन्द्र र प्रदेश संसदीय दलले कारवाही गरेकाले चार जनाकोे पद रिक्त रहेको सुचना प्रदेश सभा सचिवालयले निकाले पछि उनीहरु अदालत गएका थिए। मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको उनीहरु बैशाख ६ गते प्रदेश सरकारमा मन्त्री बन्न गएका थिए ।
पार्टीको निर्णय विपरित मन्त्री बन्न गएको भन्दै जसपाको उपेन्द्र यादव पक्षले चार जनालाई कारवाही गरेको थियो । कारवाहीको सुचना प्रदेश सभा सचिवालयबाट जारी भएपछि उनीहरु पदमुक्त भएका थिए । महन्त ठाकुर पक्षले भने एक पक्षिय कारवाही मान्य नहुने बताएको थियो ।
कारवाहीको सूचनाविरुद्ध सन्तोष पाण्डे लगायत चार जनाले प्रदेश सभा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । जेठ ३ गते सर्वोच्च अदालतले कारवाहीको सुचना तत्कालको लागि कार्यान्वयन नगर्नु भनि अल्पकालिन अन्तरिम आदेश दिएको थियो । आज उक्त रिट माथि दुबै पक्षले बहस गर्ने छन्। बहस पछि अन्तरिम आदेश जारि हुने कि नहुने भन्ने बारेमा टुंगो लाग्ने छ ।
प्रतिक्रिया