पोखरा ११ असोज : पर्यटकीय नगरी पोखरा कोरोना महामारीका कारण लामो समयदेखि ठप्प रह्यो। आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने ताल किनार सुनसान बन्यो। ताल किनारको फुटट्र्याकदेखि होटल रेष्टुरेन्ट बन्द र सुनसान भए।
अहिले सरकारले लामो समयदेखि बन्द गरेको पर्यटन क्षेत्र खुल्ला गरेको छ। सरकारले पर्यटन क्षेत्र खुल्ला गरेपनि पोखरामा पर्यटनको चहलपहल सामान्य समय भन्दा न्यून छ।
कोरोना कहर नहुँदो हो त यो समय लेकसाइड क्षेत्र पर्यटकले गुलजार हुने समय हो। तर, यतिबेला पोखराको पर्यटन फेवा किनार तैरिन खोजेको छ, पोखराको पर्यटन चलमलाउन कोसिस गरेको छ।
पोखराको पर्यटन लयमा फर्किन लागेको सन्देश दिन रेवानले विश्व पर्यटन दिवसको अवसरमा एक दिने सडक महोत्सव आयोजना गरेको छ। पर्यटन दिवसको छेको पारेर पर्यटन व्यवसाय र गण्डकी प्रदेशको निम्तोमा आइतवार विभिन्न ११ देशका राजदूत पोखरा आएका छन्।
राजदूतसँगै कूटनीतिक नियोगका प्रमुखहरु गरी २८ जनाको टोली पोखरा आइपुगेका हुन्। सरकारको निम्तोमा कतार, जर्मनी, श्रीलंका, दुबई, साउदी, कोरिया, इजिप्ट, थाइल्यान्ड, फिनल्यान्ड, युरोपियन युनियनका राजदूत पोखरा आएका हुन्।
संयुक्त राष्ट्र संघ, युनेस्को, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व खाद्य कार्यक्रमलगायत नियोगका नेपालस्थित प्रतिनिधिहरु पनि आजै पोखरा आएका छन्।
उक्त टोलि भोलि पदयात्रामा निस्किँदै छन्। टोलीको पदयात्रा भोलि बिहान ८ बजेबाट शुरु हुनेछ। सुरुवातमा उनीहरु कास्कीकोट जानेछन्।
त्यसपछि उनीहरुको गन्तव्य सराङकोटसम्म पैदल यात्रा हुनेछ। त्यसपछि उनीहरु अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिस फल, फेवा ताल घुम्ने छन्। दिनभरको दृश्यावलोकनपछि उनीहरुले पोखरा सडक महोत्सवको अवलोकन गर्नेछन्।
प्रतिक्रिया