काठमाडौं १४ असोज । कतिपय घटना कल्पना गरेभन्दा फरक नै हुन्छ । राजधानीमै एउटा हत्याको अनुसन्धान गर्दै गरेका प्रहरी नै अचम्मित हुने गरी अर्को घटना भएको पाइएको छ ।ललितपुरमा भएको एउटा घटनाको प्रहरीले अनुसन्धान गर्दै थिए । सो घटनाका हत्या अभियुक्तको पहिचान भएको थियो । उनको खोजी जारी थियो । खोजी भइरहेकै बेला ती व्यक्ति नै मृत फेला परेका छन् ।घटना ललितपुरको गोदावरी नगरपालिका ७ देवीचौरको हो ।
असोज ११ गतेका दिन राजकुमार भोलनको हत्या भएको अवस्थामा प्रहरीले लास बरामद गर्यो । सो घटनामा अनुसन्धान जारी थियो । सो घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गर्यो । तर, राजकुमारमाथि खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचानपछि प्रहरीले खोजी गरिरहेको थियो ।प्रहरीले खोजी गरिरहेकै तिनै व्यक्ति असोज १३ गते बुधबार मृत फेला परे ।
राजकुमार भोलनको हत्या अभियोगमा खोजी गरिरहेका व्यक्ति मनोज मगर भन्ने मनोज सार्कीको शव फेला परेपछि प्रहरी नै अचम्मित भए ।राजकुमारको हत्या अभियोगमा प्रहरीले उनकै श्रीमती रजिना भोलन, साली सुनिता स्याङ्तान, साडुभाइ ज्ञानबहादुर स्याङ्तान र लक्ष्मी तामाङलाई पक्राउ गरिसकेको छ । उनीहरुकै बयानका आधारमा राजकुमारलाई खुकुरी प्रहार गर्ने मनोजलाई प्रहरीले खोजी गरिरहेको थियो । तर, बुधबार राजकुमारको हत्या भएको डेढ सय मिटर तल भिरमुनि मनोजको शब फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।
सो घटनामा महानगरीय प्रहरी वृत्त चापागाउँ र अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो । राजकुमारको हत्यापछि मनोज फरार थिए । ‘हामी मनोजकै खोजीमा थियौं, उनको शव बुधबार राजकुमारको हत्या भएको डेढसय तल भिरमुनि भेटिए’ एसएसपी खापुङले भने, ‘जसको खोजी गरिएको थियो, उनै व्यक्ति मृत भेटिएपछि यसबारे थप अनुसन्धान गर्नुपर्नेछ ।’मनोजको भने सो भिरबाट लडेर मृत्यु भएको आशंका गरिएको छ । शरीरमा धारिलो हतियार प्रहार भएको स्थिति नदेखिएको प्रहरी भनाइ छ । भिरमा आफै लडे वा कसैले घचेटिदिए भन्ने विषयमा भने अनुसन्धानको पाटो रहेको प्रहरी भनाइ छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा राजकुमारलाई श्रीमती र सालीले लक्ष्मीमार्फत मनोजलाई पैसा दिएर हत्या गर्न लगाएको खुलेको छ । राजकुमारले श्रीमती रजिनालाई बारम्बार कुटपिट गरेको र पारिवारिक बेमेलको स्थिति देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताएका छन् ।
उनका अनुसार, पारिवारिक बेमेलको अवस्थाले गर्दा राजकुमारको हत्या गर्ने योजना बनेको देखिएको छ । राजकुमारको हत्याका लागि लक्ष्मीमार्फत् मनोजले ५० हजार रुपैयाँ लिएको रजिनाले प्रारम्भिक बयानमा भनेका छन् ।उनीहरु सबैजना गलैंचा कारखानामा काम गर्ने मजदूरहरु हुन् । राजकुमारका साडुभाइ ज्ञानबहादुरको घटनामा प्रत्यक्ष संलग्न नदेखिएपनि शंकास्पद गतिविधि देखिएपछि प्रहरीले अनुसन्धानमा लिएको बुझिएको छ ।








प्रतिक्रिया