कपिलवस्तु २१ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ बोडगाउँका पदम गिरी आफ्नो खातामा एकाएक १० हजार रकम आएको खबरले दङ्ग हुनुहुन्छ । सामान्य होटल व्यवसाय गर्दै आउनुभएका गिरी आफुले वर्षभरी सहकारी बजारबाट सामान खरिद गरे बापत उक्त रकम प्राप्त गरेको कुराले थप उत्साहित बन्नुभएको छ ।सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको सहकारी बजारबाट दैनिक उपभोग्य सामग्रीहरु खरिद गर्दै आउनुभएका गिरीले सहकारीको नीति अनुसार उक्त रकम प्राप्त गर्नुभएको हो ।
गुणस्तरिय सामान सुपथ मूल्यमा एकै ठाउँबाट पाइने भएकाले आफु सदैब सहकारी बजार आउने गरेको गिरीले बताउनु भयो । अझ आफुले सामान खरिद गर्दा संस्थालाई हुने मुनाफाबाट २५ प्रतिशत आफैलाई फिर्ता हुने भए पछि त सहकारी बजारले झनै आकर्षित गरेको गिरीको भनाइ छ ।सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका सचिव एवं सहकारी बजारका संयोजक कृष्ण प्रसाद न्यौपानेले संस्थाको नीति अनुसार संरक्षित पुँजी फिर्ता कोष मार्फत सदस्य ग्राहकलाई खुद नाफाको २५ प्रतिशत फिर्ता गर्ने गरिएको जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार सहकारी बजारले हरेक सदस्यहरुलाई ग्राहक कोण उपलब्ध गराउने र सोही कोण मार्फत खरिद विवरण राखी वार्षिक कति रकम बराबरको खरिद भएको छ भन्ने हेरेर सोहि आधारमा मुनाफाको २५ प्रतिशत सदस्य ग्राहकलाई नै फिर्ता गर्ने संस्थाको नीति रहेको बताउनुभयो ।संस्थाले जसबाट नाफा कमाएको हो उसैलाई नै नाफाको २५ प्रतिशत फिर्ता गर्ने नीति लिएको न्यौपानेले बताउनुभयो ।
१५ वर्गका ३ हजार बढि आइटम :
सहकारी बजारमा १५ वटा वर्गका ३ हजार भन्दा बढि प्रकारका सामानहरु पाइने बजार व्यवस्थापक मदन पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार बजारमा भएका सम्पूर्ण सामानहरुलाई १५ वटा समुहमा विभाजन गरिएको छ । जसमा विभिन्न ब्राण्डका ३ हजार बढि आइटमहरु राखिएको छ । बजारमा दैनिक उपभोग्य सामग्री, खाध्यन्न, दलहन, तेलहन, तरकारी तथा फलफुल, अण्डा तथा मासुजन्य सामग्री, दुग्धजन्य सामग्री, पुजा सामग्री, कस्मेटिक सामग्रीहरु उपलब्ध छन् ।
बजारमा कृषको आवश्यकतालाई मध्यनजर गर्दै एग्रोभेटका सामगी्रहरु पनि राखिएको छ । एग्रोभेट तर्फ विषादीजन्य सामग्री, पशुपंछीको औषधी, पशुपंछी आहार, रासायनिक मलखाद, बीउबिजन, कृषि औजार उपलब्ध रहेको भने ग्राहकको माग अनुसार खाना पकाउने ग्याँस पनि राखिएको व्यवस्थापक पौडेलले जानकारी दिनुभएको छ ।
दैनिक साढे ३ सयदेखि ५ सय ग्राहक :
सहकारीको आकर्षण क्रमिक रुपमा बढ्दै गएको व्यवस्थापक पौडेलले बताउनुभएको छ । ग्रेडिङ गरिएका गुणस्तरिय सामान सुपथ मूल्यमा पाइने, मोलमोलाइ गर्न नपर्ने र आवश्यकीय सबै सामान एकै ठाँउबाट पाइने भएकाले हजारौं ग्राहकको रोजाइमा सहकारी बजार परेको व्यवस्थापक पौडेलको भनाइ छ । उहाँका अनुसार दैनिक ३ सय ५० देखि ५ सय जनासम्मले सहकारी बजारबाट सामान गरिद गरिरहेका छन् । दैनिक विहान साढे ६ बजेदेखि राती ८ बजेसम्म खुला रहने सहकारी बजारमा औषतमा दैनिक डेढ लाखको कारोबार हुने गरेको पौडेलले बताउनुभयो ।
बम्पर उपहार योजना :
सहकारी बजारले नेपालीहरुका महान चाडपर्वहरु दशै, तिहार र छठलाई लक्षित गरी ‘बम्पर उपहार योजना’ ल्याएको छ । योजना असोज २१ गते घटस्थापनाको दिनदेखि सुरु भएर कार्तिक २४ गते छठ पर्वको दिनसम्म रहने बताइएको छ । योजना अनुसार उक्त अवधिभर बजारबाट एक पटकमा एउटै बिलबाट ३ हजार भन्दा माथिको सामान खरिद गर्ने ग्राहकलाई एउटा कुपन दिइने र सोहि कुपनको आधारमा लक्की ड्र गरेर १७ जनालाई विभिन्न उपहारहरु दिइने छ । लक्की ड्र को आधारमा १ जनालाई फ्रिज, १ जनालाई दराज, १ जनालाई ग्याँस सेट, १ जनालाई राइशकुकर र १३ जनालाई भित्तेघडी प्रदान गरिने छ । विजेतालाई छठ पर्व पछि विशेष कार्यक्रम मार्फत उपहार प्रदान गरिने बताइएको छ ।
यसैबीच सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासे संस्थाले ‘समृद्धिका लागि सहकार्य’ भन्ने मूल नारा अंगिकार गरेको र सोही बमोजिम समाजका हरेक नागरिक तथा निकायसंग सहकार्य गर्दै समाजलाई समृद्धिको दिशातर्फ उन्मुख गराउन लागि परेको बताउनुभयो ।
अध्यक्ष बेल्बासेले सहकारी आफैमा बहुउद्देश्यीय भएकाले समाजका हरेक क्षेत्रमा काम गर्ने गरी योजना बनाएको बताउनुभयो । बेल्बासेले बोडगाउँमा रहेको सहकारी बजारलाई स्तरोन्नती गर्दै नगरका विभिन्न स्थानमा सहकारी बजारलाई विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।सहकारी बजारले कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई उचित मूल्यमा खरिद गरी ग्राहकलाई सुपथ मूल्यमा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको बेल्बासेले जानकारी दिनुभयो
वि.सं. २०७६ साउन १५ गते उद्घाटन भएको यस सहकारी बजारले छोटो समयमै हजारौं ग्राहकको मन जित्न सफल भएको छ । सहकारी बजार साविकको कृषि बहुउद्देश्यीय सहकारी संस्था बोडगाउँले स्थापना गरेको थियो ।गत असार २२ गते उक्त संस्था सहित ६ वटा सहकारी संस्था मर्ज भएर सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएपछि हाल उक्त सहकारी बजार सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाको मातहत तथा व्यवस्थापनमा सञ्चालित छ ।
प्रतिक्रिया