काठमाडौ २५ असोज । ऋणीले ऋण तिर्ने भाका नाघेको ६ महिनापछि मात्रै धितोमा रहेको सम्पत्ति लिलाम प्रक्रिया सुरु गर्न नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्रबैंकले सोमबार यसअघिको एकीकृत निर्देशिकामा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।यसअघि धितो लिलाम प्रक्रिया अघि बढाउन कुनै समय सीमा तोकिएको थिएन ।बैंक तथा वित्तीय संस्थाले ऋणको भाखा नाघेपछि व्यक्तिगत रुपमा सम्पर्क गरेर तथा सार्वजनिक रुपमा सूचना प्रकाशन गरेर ऋणीलाई ऋण तिर्न आउन अनुरोध गर्थे । सूचनामा दिइएको अवधिमा पनि ऋणी सम्पर्कमा नआए उनीहरुले धितो लिलामी प्रक्रिया सुरु गर्थे ।
अब भने बैंक तथा वित्तीय संस्थाले कर्जाको भाखा नाघेको ६ महिनापछि मात्रै धितो लिलामीका लागि प्रक्रिया सुरु गर्न पाउने भएका छन् । राष्ट्रबैंकले कर्जा असुलीसम्बन्धी कारबाही सम्बन्धमा भन्ने शीर्षक दिएर सोमबार जारी संशोधित निर्देशिकामा उल्लेख गरेको छ, ‘एक वर्षभन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नुअघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई कम्तीमा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।’








प्रतिक्रिया