कपिलवस्तु २६ असोज । कपिलवस्तुको पृष्ठभूमीवाट माओवादी राजनीति गर्दै आएका यसअघि कपिलवस्तु इञ्चार्जको जिम्मेवारी दिइएका डोरप्रसाद उपाध्यायलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारीमा पुराइएको छ । यस अघि केन्द्रिय कुनै विशेष भूगोलको जिम्मेवारीमा नरहेका कपिलवस्तुका नेता कमल चुदालीलाई कपिलवस्तु इन्चार्ज बनाइएको छ । यता राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियानमार्फत करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य लिएको छ । पार्टीमा जिम्मेवारी नपाएका नेताहरूलाई जिम्मेवारी दिएर संगठनलाई सशक्त बनाउने माओवादीले निर्णय गरेको छ ।
असोज ६, ११, १२ र १३ गते सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । विभिन्न प्रदेशका रिक्त पदाधिकारी र अन्य केही संगठनात्मक निर्णय पनि भएको छ । जसअनुसार प्रदेश नम्बर १ को सचिवमा हेमराज भण्डारी चयन भएका छन् भने प्रदेश २ को अध्यक्षमा प्रल्हाद बुढाथोकी र जोगबहादुर बर्बरिया यादव चयन भएका छन् ।यस्तै, बागमती प्रदेशमा ईश्वरी प्रसाद भट्टराईलाई पनि सह इन्चार्ज बनाइएको छ ।
यसअघि हितबहादुर तामाङ, शशी श्रेष्ठ र सूर्य सुवेदी सहइञ्चार्ज थिए । यसअघि नै हितमान शाक्य इञ्चार्ज र नारायण दाहाल अध्यक्ष रहेको बागमती प्रदेशमा सचिवको जिम्मेवारी अञ्जना विशंखेलाई दिइएको छ । यसैगरी गण्डकी प्रदेशमा देवेन्द्र पराजुलीलाई सचिवको जिम्मेवारी दिइएको छ ।सुदूरपश्चिममा सबैको चित्त बुझाउन माओवादीले ६ जनालाई पार्टीको सहइञ्चार्ज बनाएको छ । यसअघि माओवादीले लक्ष्मीदत्त जोशी र तारामान स्वाँरलाई सहइञ्चार्ज बनाएकोमा फेरि ४ जना सहइञ्चार्ज थपेको हो ।
पछिल्लो समय थपिएका सहइञ्चार्जहरुमा बिना मगरसँगै नेपबहादुर चौधरी, त्रिलोचन भट्ट र वीरमान चौधरी छन् । भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत हुन् । यस्तै, अध्यक्षमा शरद्सिंह भण्डारी र सचिवमा देवीलाल चौधरी रहेका छन् भने इञ्चार्जमा खगराज भट्ट यसअघि नै चयन भइसकेका छन् ।यसैगरी प्रवास समन्वय समितिको सहइञ्चार्जमा लक्ष्मण पन्त चयन भएका छन् । यसअघि नै समितिको इञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्ष ओम शर्मा रहेका थिए । यस्तै सचिवमा टीबी पाठक रहेका छन् ।
यसैगरी माओवादीले डडेलधुरा इञ्चार्ज जगत पार्की, डोटीमा शिव सिंह ओली, अछाममा झपट साउद, प्युठानमा नारायण अधिकारी, गुल्मीमा सुदर्शन बराल र लमजुङमा पारशमणि पौडेल इञ्चार्ज चयन भएका छन् । यसैगरी पर्सा इञ्चार्जमा विजय महतो र वीरगञ्ज महानगरपालिकामा बाबुराम कौशिक चयन भएका छन् ।
प्रतिक्रिया