काठमाडौं, असोज २६ । गृहमन्त्री बालकृष्ण खाँणको आफ्नै निर्वाचन क्षेत्रसमेत रहेको गृहजिल्ला रूपन्देहीको मोतीपुरमा आइतबार चार जना सुकुम्वासीको गोली हानी हत्या भएको छ । सरकार गठनलगत्तै सुकुम्वासीप्रति अति अनुदार रहेको घोषणा गरेको शेरबादुर देउवा नेतृत्वको सरकारले आइतवार गृहमन्त्रीकै जिल्लामा चार जनाको गोली हानेर हत्या गरेको हो ।
पूर्वमन्त्री महेश बस्नेतले मोतिपुरको हत्यालाई देउवा सरकारको सुकुम्वासीमाथि गरिएको नियोजित हत्याको संज्ञा दिनुभएको छ । सामाजिक सञ्जालमा अन्य नेता तथा सामाजिक अभियन्ताले पनि चर्काे आलोचना गरेका छन । मन्त्रिपरिषदले पुर्णता पाएसँगै देउवा सरकारले बर्साएको गोलीबाट चारजनाको ज्यान गएपछिसरकारमाथि हत्याराको आरोप लागेको छ ।
रुपन्देहीको वुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर अन्य थुप्रै सर्वसाधरण घाइते भएका छन । सरकारको नेतृत्वमा पुग्नेवित्तिकै भूमि समस्या समाधान आयोग समेत विघटन गरेको देउवा सरकारले सुकुम्वासीमाथि नै गोली चलाएपछि शंकाको घेरामा परेको छ । यसअघि पनि सुकुम्वासीले मोतीपुरमा प्रदर्शन गर्दा सरकारले संयमता अपनाएकोले कुनै क्षती भएको थिएन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा कांग्रेसले नै मोतिपुरमा प्रदर्शन गराएको थियो । तर सरकारले संयमता अपनाउँदै नागरिकको जीउधनको सुरक्षा गरेको थियो । यसपटक कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले भने गोली बर्साएर निर्दाेष नागरिकको हत्या गरेको छ ।
शनिबार मात्र सत्तारूढ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुकुम्वासीलाई चुनाव अघि जग्गा बितरण गर्ने बताउनु भएको थियो । तर प्रचण्डको उक्त घोषणाको २४ घण्टा पनि नबिल्दै उनकैसरकारले सुकुम्वासीको गोली हानेर हत्या गरेको छ । सरकारले जग्गा कब्जा गर्ने समूह भने पनि ती सुकुम्वासी नै रहेको स्थानीयले बताएका छन । स्थानीय जमिनदारहरूको समर्थन र मत बटुल्नका लागि कांग्रेसले यस्तो हर्कत गरेको हुन सक्ने अनुमान पनि गरिएको छ । गोली लागि मृत्यु भएका एक जनाको मात्र सनाखत भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का करिब ४८ वर्षीय रमेश परियार रहेका छन् । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अन्य ३ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले यो घटनाको कडा निन्दा गरेको छ । सरकारले संयमता गुमाउँदा सो दुर्घटना भएको एमालेको भनाई छ ।








प्रतिक्रिया