काठमाडौँ ८ कार्तिक — एमाले शनिबार झण्डै ६ हजार वडाको अधिवेशन गर्यो । लामो समय आन्तरिक विवाद गुज्रेर विभाजनको समेत पीडा खेपेको एमालेको वडा अधिवेशनमा भने अधिकांश ठाँउमा सर्वसम्मत भयो । नवौं महाधिवेशनमा प्यालन बनाएपछि बढेको तीब्र गुटबन्दीले चिरा परेको एमालेको सबै भन्दा तल्लोतहको कमिटीको नेतृत्व छनौटमा छिटपुट बाहेक विवादका बाछिटा नदेखिनुको संकेत के हो ? नेताहरू भन्छन्– ‘अब धेरै विवादको अवस्था पार्टी भित्र छैन, त्यसैको संकेत हो ।’
वडा अधिवेशन भएपनि एमालेले यसलाई आगामी निर्वाचनको तयारी र विभाजनपछि असर कम भएको देखाउने अवसरको रुपमा प्रयोग गरेको छ । पार्टीभित्र लोकतान्त्रिक अभ्यास भन्दै यसअघि एमालेमा सबै जस्तो कमिटीहरूको नेतृत्व छनोटका लागि प्यानलसहितको निर्वाचन हुने गरेको थियो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भएको वडा अधिवेशनले केन्द्रीय कमाण्डमा एमाले एउटै लयका साथ परिचालन भएको सन्देश दिएको बताउँछन् । ज्ञवालीका अनुसार पार्टीमा एकता, उत्साह र साझा संकल्प तीन विषयलाई प्रतिविम्बित गरेको छ ।
‘अहिलेसम्म सबै तथ्यांकहरू आइपुगेको छैन जानकारी तर साढे ५ देखि ६ हजार वडाको अधिवेशन एकै पटक छनोट भएको छ । अधिकांश स्थानमा सहमतिका साथ नेतृत्व छनोट भएको छ’ एमालेका प्रवक्ता ज्ञवालीले भने, ‘राष्ट्रव्यापी रुपमा एकै स्थानमा पार्टी सञ्चालन गर्न सकिन्छ । पार्टीको केन्द्रीय कमाण्डमा सिंगो पार्टीको एउटै लय, एकसाथ परिचालन गर्नसक्ने हाम्रो सामर्थ्य यसले प्रकट गरेको छ ।’
एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तल्लो तहबाट निर्वाचित नेतृत्वको नाम केन्द्रमा आइरहेको र त्यसलाई पार्टीको आधिकारिक वेबपेजमा राख्ने गरि तयारी भइरहेको बताए ।
एमालेले शनिबार एकै पटक ६ हजार ७ सय ४३ वडा अधिवेशन गर्ने घोषणा गरेको थियो । एमालेको वडा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका हुन् । प्रत्येक कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।
शनिबार अधिवेशन हुन नसकेको अधिकांश वडाहरू बाढी पहिरोका कारण रोकिएको दावी तामाङले गरेका छन् । पार्टीभित्रको बिबादको कारण सुनसरीका केही वडा सहित केही स्थानमा मात्र नेतृत्व छनोट हुन सकेको छैन ।
प्रवक्ता ज्ञवालीले वडा अधिवेशनले एमाले विभाजनको असर कम भएको देखाएको बताए । ‘विभाजनको असर आधारभूत तहमा खासै छैनन् भन्ने विषयको संकेत पनि वडा अधिवेशनले गरेको छ’ ज्ञवालीले भने, ‘जसरी सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ यसले पार्टीमा विधान महाधिवेशनमा विचारको एकतालाई देखाएको थियो तर वडा अधिवेशनले नेतृत्वको एकता पनि देखाएको छ । अहिलेको जुन चुनौति छ त्यसलाई चिर्नका लागि एकतावद्ध भएर अघि आवश्यक रहेको आधारभूत तहमा अनुभूति गर्नु गरेको देखिन्छ ।’
पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको २ महिना नहुँदै एमाले बडा अधिवेशन गरेको छ । जसको कारण एमालेले केन्द्रदेखि प्रदेसहरूमा सरकार गुमाएको छ ।
एमाले सचिव गोकर्ण विष्टले वडा अधिवेशनमा भएको सर्वसम्मतीले पार्टीमा हार्दिकता, समन्वय र एकता बढ्दै गएको देखिएको बताए ।
‘वडा र गाउँका संगठनहरू आधारभूत तहको संगठन, पार्टीको जग र महत्वपूर्ण आधार हो’ विष्टले भने, ‘यो स्थानमा सर्वसम्मत हुनुभनेको पार्टीमा हार्दिकता, समन्वय र एकतावद्ध वातावरण निर्माण भैरहेको छ भन्ने संकेत हो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुने कुराले पार्टीलाई थप बलियो बनाउँछ ।’
विभाजन, एमालेमाथि भैरहेको चौतर्फी हमला र घेराबन्दीको कारण कार्यकर्ताहरुले पार्टीलाई एकतावद्ध बनाउनु पर्छ भन्नेर सर्वसम्मत नेतृत्व छनोट गरेको विष्ट बताउँछन् ।
‘एमालेमाथि जुन रुपमा चौतर्फी हमला, घेराबन्दी भइरहेको छ यसबाट पार्टी जोगाउन एकतावद्ध हुनुपर्छ र सहमति गरिनुपर्छ एउटा पक्ष हुनसक्छ’ विष्टले भने, ‘एमाले केही समयमा जुन रुपमा अन्तरविरोध देखा परे त्यो जारी रहे थप समस्या आउँछ । पार्टीको जग कमजोर हुन्छ भन्ने प्रकारको महसुश पनि गरेको हुनुसक्छ । पार्टी र आन्दोलन जोगाउनका लागि आधारभूत तहको संवेदनशीलता र गम्भीरताले यस्तो परिणाम आएको छ ।’
उनले तल्लो तहमा भएका सर्वसम्मत नेतृत्वको छनोटले एमालेलाई मजबुत बनाउने बताउँछन् । विष्टसिहत लामो समय माधवकुमार नेपालसँग रहेका नेताहरू र अध्यक्ष केपी शर्मा ओली पक्षबीच पार्टी एकताका लागि दस बुँदे सहमति भएको थियो । तर अध्यक्ष ओली पक्ष १० बुँदे सहमति पूर्णतया लागू नगरेको भन्दै असन्तुष्टी रहँदै आएको छ ।
असोज १५–१७ विधान महाधिवेशन गरेका वैचारिक र विधानको विषयलाई छलफल गरेको एमालेले मंसिर १०–१२ चितवनमा नेतृत्वमा छनोटका लागि महाधिवेशन गर्दै छ । त्यसैको तयारीको रुपमा एमाले तल्लो तहको अधिवेशन गरेको छ ।
एमाले प्रवक्ता ज्ञवालीले वडा अधिवेशन जस्तै केन्द्रमा पनि सर्वसम्मत छनोट तयारी भैरहेको बताए ।
‘आगामी महाधिवेशनमा मुल र आम नेतृत्व सहमतिका साथै निर्वाचित हुने देखिन्छ । केही केही पदहरुमा मात्रै प्रतिस्पर्धा हुन्छ’ ज्ञवालीले भने ’केही पदहरूमा साथीहरूले आकांक्षा व्यक्त गर्नुहोला त्यस्तो हुनु स्वभाविक हो र हामीले स्वच्छ रुपमा भएको प्रतिस्पर्धालाई अन्यथा पनि ठान्नु हुँदैन ।’








प्रतिक्रिया