प्रदेश

दशैंमा गतबर्षको तुलनामा ४ गुणा बढी उडान, कतियात्रुले सेवा लिए?



काठमाडौँ ११ कार्तिक। कोरोना विरुद्ध खोप लगाउनेको संख्या वृद्धि तथा संक्रमण खुकुलो भएसँगै यसपटक घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट जाने र फर्किने गरी ३६ सय ७१ वटा आन्तरिक उडान भए । यो अघिल्लो वर्ष (२०७७ )को दसैंमा भएका उडानहरुको दाँजोमा चार गुणाले बढी हो ।कोरोना त्रास कायमै भएको र कोटा प्रणालीका कारण गत वर्ष दसैंमा (कात्तिक १ देखि १४ गतेसम्म) ९ सय २२ वटा आन्तरिक उडान भएका थिए ।काठमाडौं विमानस्थलस्थित आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडालका अनुसार, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको भएका ३६ सय ७१ वटा उडानबाट कूल १ लाख ८५ हजार ६ सय ८३ यात्रुले ओहोरदोहोर गरे ।                   दसैंको यो अवधिमा आन्तरिक टर्मिनलबाट दैनिक ११ हजारदेखि १५ हजारसम्म यात्रु आवागमन भयो । काठमाडौं विमानस्थलबाट दैनिक ३ सय हाराहारी आन्तरिक उडान भएका थिए । यसपटक दसैंमा भएका उडानबाट ९६ हजार २ सय १८ यात्रु काठमाडौंबाट बाहिरिएका थिए भने मोफसलबाट ८९ हजार ३ सय ९५ यात्रु काठमाडौं आएका थिए ।काठमाडौंबाट दैनिक सबैभन्दा धेरै उडान हुने प्रमुख सहरहरुमा पोखरा, विराटनगर, भैरहवा र नेपालगन्ज थिए ।                 तथ्यांक अनुसार, दसैंमा काठमाडौंबाट दुईतर्फी उडान पोखरामा दैनिक ४६, विराटनगर ४४, भैरहवा ४० र नेपालगन्जमा २२ हाराहारी भएका थिए ।बुद्ध एयरको काठमाडौं विमानस्थल प्रमुख दिलिप खड्काका अनुसार, अधिकांस यात्रुले कोरोना विरुद्धको खोप लगाइसकेकाले यसपटक गत वर्ष जस्तो आन्तरिक उडानमा फेस सिल्ड लगाउनु पर्ने कोभिड भए/नभएको स्वास्थ्य फारम भर्नुपर्ने नियम पनि थिएन । उनका अनुसार उडानमा खुकुलो हुँदै गएकाले यसवर्ष आन्तरिक यात्रुको संख्या वृद्धि भएको हो । यसपटक गतवर्ष जस्तो दसैंमा नागरिक उड्डयन प्राधिकरणले उडान संख्याको कोटा पनि तोकेको थिएन।    घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भएका ३६ सय ७१ वटा आन्तरिक उडानमा निजी क्षेत्रको बुद्ध एयरले १७ सय ६८ वटा उडान गर्‍यो । बुद्धपछि धेरै यति एयरलायन्सले ५ सय ७४, श्री एयरलायन्सले ३ सय ९४ वटा उडान गरे । त्यस्तै, असोजबाटमात्रै ५ वटा विमानबाट उडान थालेको गुणले २ सय ४५ उडान गरे । तर, सरकार स्वामित्वको नेपाल वायुसेवा निगमले यो दसैंमा दुईटा ३० वर्ष पुराना टुइनअटरबाट १ सय वटा मात्रै उडान गर्‍यो । काठमाडौंबाट नेपालगन्ज र पोखरालाई पनि हब बनाउँदै त्यहाँका विमानस्थलबाट दुर्गम तथा हिमाली भेगमा उडान गर्दै आएका तारा, समिट र सिताले पनि निगमको दाँजोमा दसैंमा धेरै उडान गरे ।   दसैंमा सबैभन्दा धेरै १७ सय ६८ उडान गर्ने बुद्ध थियो भने सबैभन्दा कम १ सय उडान गर्नेमा नेपाल वायुसेवा निगम थियो । दसैंमा निजी क्षेत्रका वायुसेवाले १ लाख ८५ हजार यात्रु उडाउदा सरकारी वायुसेवा निगमले १३ सय यात्रु मात्रै उडायो ।  चुडालका अनुसार दसैंमा बुद्धले १५, सौर्यले २, श्रीले ५, सीताले २, समिटले ४, गुणले ५, यतिले ५, ताराले ३ र निगमले २ वटा गरी ४३ वटा जहाज आन्तरिक रुटमा उडाएका थिए । आन्तरिक उडानमा रहेका नौवटा वायुसेवा कम्पनीसँग १९ देखि ७२ सीट क्षमतासम्मका ५० वटा जहाज छन् । देशभर ३४ वटा विमानस्थल सञ्चालनमा छन् । काठमाडौं विमानस्थलबाट हाल दुई दर्जन आन्तरिक विमानस्थलमा सिधा उडान हुन्छ ।

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६