काठमाडौं, १३ कात्तिक । कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता–कार्यकर्ताहरुको रिहाईका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।
गृहमन्त्री समेत रहेको उनले मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे । कार्यबाहक प्रधानमन्त्री खाँणले सो पार्टीका एउटै बन्दीलाई ६-७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भईरहेको जानकारी समेत दिए ।
उनले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन विताईरहेकाहरुको संख्या यकिन गर्ने काम सरकारले गरिरहेको बताए । सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको खाँणको भनाइ थियो । कार्यबाहक प्रधानमन्त्री खाँणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिइरहेको पनि बताए ।
प्रतिक्रिया