अर्थ-वाणिज्य

दीर्घरोगी र ६० वर्षमाथिका दुई डोज भेरोसेल लगाएका सबै नागरिकलाई तेस्रो डोज दिन सिफारिस



काठमाडौं २६ मंसिर । राष्ट्रिय खोप सल्लाहकार समितिले कोरोनाविरुद्ध दुई डोज भेरोसेल लगाएका दीर्घरोगी र ६० वर्षमाथिका सबै नागरिकलाई तेस्रो डोज दिन सरकारलाई सिफारिस गरेको छ । यो समूहमा पर्ने व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले दोस्रो डोज लगाएको तीन महिना पूरा भएकालाई तेस्रो डोज लगाउन सिफारिस गरेको हो । 

‘रोगप्रतिरोधी क्षमता कमजोर हुने दीर्घरोगी र ६० वर्षमाथिका नागरिकलाई भेरोसेलको तेस्रो डोज दिन हामीले सरकारलाई सिफारिस गरिसकेका छौँ,’ समिति संयोजक डा. रमेशकान्त अधिकारीले भने, ‘अब सरकारले निर्णय गरेपछि लक्षित समूहमा पर्ने व्यक्तिले थप एक मात्रा भेरोसेल खोप पाउँछन् ।’ 

तेस्रो डोज पाउने दीर्घरोगीको सूचीमा चार प्रकारका बिरामीलाई समेटिएको छ । क्यान्सर लागेका, अंग प्रत्यारोपण गरेका, एचआइभी संक्रमित र लामो समयसम्म औषधि सेवन गर्नुपर्ने बिरामी छन् । समितिले कोभिसिल्ड, फाइजर र जोन्सनलगायत खोप लगाएकाको हकमा भने तेस्रो डोजको सिफारिस गरेको छैन । 

भेरोसेल खोपले ६० वर्षभन्दा बढी उमेरका व्यक्तिमा रोगप्रतिरोधी क्षमता विकास गर्न नसकेकाले तेस्रो मात्रा दिन आवश्यक भएको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक कर्णले बताए । ‘सल्लाहकार समितिको सिफारिसलाई आधार मानेर खोप दिन सकिन्छ । तर, सरकारले कहिलेबाट दिने भनेर निर्णय गरेको छैन,’ उनले भने । विश्व स्वास्थ्य संगठनले पनि भेरोसेलको तेस्रो डोज लगाउन मिल्ने जनाइसकेको छ । तर, दोस्रो डोज लगाएको कति समयपछि तेस्रो दिने भनेर मिति सिफारिस गरेको छैन । 

‘बुस्टर डोज’ दिने स्वास्थ्यमन्त्रीको घोषणा के हुँदै छ ?
गत आइतबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले पूर्ण खोप लगाएका नागरिकलाई ‘बुस्टर’ डोज दिने तयारी भएको सार्वजनिक गरेका थिए । यसबारे प्रधानमन्त्रीसँग पनि छलफल भइसकेको र मंसिरको अन्तिम साता वा पुसको सुरुदेखि अभियान सुरु हुने घोषणा गरेका थिए । 

पूर्ण खोप लगाएका व्यक्तिलाई त्यसैको अर्को डोज थप्नुलाई विश्वव्यापी रूपमै ‘बुस्टर’ नाम दिइएको छ । यो परिभाषाअनुसार नेपालमा दीर्घरोगी र ६० वर्षमाथिका नागरिकलाई दिन सिफारिस तेस्रो डोज पनि ‘बुस्टर’ नै हो । तर, विश्व स्वास्थ्य संगठनले रोगप्रतिरोधी क्षमता कमजोर भएकालाई भेरोसेलको तेस्रो डोड लगाउन सिफारिस गरे पनि त्यसलाई ‘बुस्टर’ डोज भनेको छैन । सबै व्यक्तिलाई तेस्रो डोज आवश्यक पर्ने–नपर्ने विषयमा पनि बोलेको छैन ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६