काठमाडौँ १५ पुस । — पश्चिमी वायुको प्रभावले उडानयोग्य मौसम नहुँदा बुधबार काठमाडौंबाट हुनुपर्ने १ सय ३० वटा दुईतर्फी उडान स्थगन भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनलका अनुसार आन्तरिक उडान गर्दै आएका ९ वटा वायुसेवाले बुधबारका लागि २ सय ७२ वटा उडान गर्ने तालिका बुझाएका थिए । यी वायुसेवाले साँझ अबेरसम्म १ सय ४२ वटामात्रै उडान गरे । मौसममा सुधार नआएका कारण १ सय ३० वटा उडान रद्द भए ।
टर्मिनल प्रमुख पूर्ण चुडालका अनुसार अबेरसम्म बुद्ध एयरले ६८, यतिले ३४, ताराले ६, नेपाल वायुसेवा निगमले ६, गुण एयरलायन्सले १२, श्रीले २ र सौर्यले २ गरी १ सय ३० वटा उडान रद्द गरेका थिए । काठमाडौं–पोखरा उडान नै भएन भने धनगढी, भैरहवा, जनकपुर, भद्रपुर, विराटनगर, सिमराका लागि तोकिएका सबै उडान भएनन् । हिमाली र दुर्गम भेगमा हिमपात भएका कारण नेपाल वायुसेवा निगम, तारा र समिट एयरका कुनै पनि उडान भएनन् ।
अन्तर्राष्ट्रियतर्फ बुधबार बिहान ६ बजेदेखि राति साढे १ बजेसम्मका लागि दुईतर्फी ५४ वटा उडान तालिका राखिएकामा एउटा उडान डाइभर्ट भएको थियो । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार यूएईबाट आएको एयर अरेबिया सिमरामाथिको आकाशमा आइसकेपछि भारतको लखनउ डाइभर्ट भएको थियो । उक्त रुटमा खराब मौसम र चट्याङका कारण पौने ४ बजे काठमाडौं अवतरण हुनुपर्ने जहाज लखनउबाट साढे ७ बजेमात्रै काठमाडौं आइपुगेको थियो ।
प्रतिक्रिया