कपिलवस्तु, १० असार ।
धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । कपिलवस्तुका अधिकांश स्थानीय तहले पनि (आज) शुक्रबार आफ्नो सभामा बजेट पेश गर्दै छन् । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्ष (आव) को बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले २०७९/०८० को बजेट ल्याउँन लागेका हुन् ।
जिल्लाको बाणगंगा नगरपालिकाले पनि आजै नगरसभामा बजेट प्रस्तुत गर्दै छ । बुधबार नीति तथा कार्यक्रम सर्वसम्मतले पास गरिसकेको बाणगंगाले बजेट प्रस्तुत गर्न थालेको हो । बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार दिउँसो २ बजे नगरसभा आह्वान गरिएको छ ।
यता कपिलवस्तु नगरपालिकाले पनि आज नीति तथा कार्यक्रमसहितको बजेट ल्याउँदै छ । नगर प्रमुख सुदीप पौडेलले नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार दिउँसो नगर सभाको बैठक आह्वान गरिएको छ ।
यस्तै जिल्लाको शिवराज नगरपालिकाको ११ औं नगरसभा आज बस्दै छ । शिवराजका प्रमुख प्रशासकीय अधिकृत गशेणप्रसाद अर्यालका अनुसार आज नै नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको बतार्ईएको छ । जिल्लाको बुद्धभूमि नगरपालिकाले विहीबार नै बजेट सार्वजनिक गरिसकेको छ ।
केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यो व्यवस्था स्मरण गराउँदै संघीय सरकारले स्थानीय तहलाई समयमै बजेट ल्याउन ध्यानाकर्षण गरएको थियो । समयमै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीयत तहमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिएको छ ।
यसअघि कतिपय पालिकाहरुले निर्धारित समयमा बजेट पारित गर्न नसक्दा वित्तीय अनुशासन कायम नभएको र पालिकाहरुले खर्च गर्न पनि नसकेको अवस्था थियो । फेरि पनि त्यस्तै अवस्था नआओस् भनेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गतेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो । बाजुराको बुढीगंगा नगरपालिकाबाहेकका सबै पालिकाहरुमा जनप्रतिनिधिहरु चुनिइसकेका छन् । ती पालिकाका जनप्रतिनिधिहरु नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने कार्यक्रममा व्यस्त छन्
प्रतिक्रिया