काठमाण्डौ, २० असार । निर्वाचन आयोगले कात्तिकको अन्तिममा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव गर्नेगरी सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ । केही दिनमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने आयोगले तयारी गरेको हो ।
चुनावको लागि कात्तिक ३० गतेको मिति उपयुक्त हुन सक्ने आयोग स्रोतले जनाएको छ । यसअघि दुई चरणमा चुनाव गर्ने निष्कर्षमा आयोग पुगे पनि एकै चरणमा चुनाव गर्ने टुङ्गोमा आयोग पुगेको छ । १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा चुनाव गर्ने आयोगको तयारी छ ।
आयोगले अहिले देशभर मतदाता नामावली सङ्कलनको काम गरिरहेको छ । चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ । आयोगका अनुसार ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ताको काम भइरहेको छ ।
यस्तै, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् ।
प्रतिक्रिया