बिर्तामोड, असार २२ । झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मक्ता भाले हात्ती मृत फेला परेको छ । झापामा यसै साता वृद्धशान्ति गाउँपालिका ५ आयवारीमा पनि एउटा हात्ती मृत फेला परेको थियो ।
भारत आसामबाट नेपाल हात्ती भित्रिने सङ्ख्या बढेसगै झापामा जंगली हात्ती मृत भेटिने क्रम समेत वढेकोे पाइएको छ । बुधबार बिहान स्थानीयले खोला किनारामा मृत हात्ती देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला वन कार्यालय झापाका सुवेदार हरि विश्वकर्माले बताउँनुभयो ।
हात्ती करेन्ट लागेर घाईते भई सो स्थानमा आई मरेको हुनसक्ने वा फुड पोइजन भएर पनि हात्ती मरेको हुनसक्ने विश्वकर्माले बताउँनुभयो । जिल्ला पशु स्वास्थ्य कार्यालयबाट पशु चिकित्सकको टोलीले मृत हात्तीको पोष्ट म्याटम गरेपछि मात्रै हात्तीको मृत्युको कारण पत्ता लाग्ने वन कार्यालयले जनाएको छ ।
मृत हात्तीमा बाहिरी कुनै चोटपटक नदेखिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले हात्ती मृत अवस्थामा भेटिएको जानकारी आएलगत्तै प्रहरीको टोली त्यसतर्फ गइसकेको जानकारी दिनुभयो ।
झापामा लामो समयदेखि मानव हात्तीको द्वन्द्व व्यावस्थापन हुन नसक्दा २०६४ सालदेखि झापामा मात्रै ५ भारतीय नागरिक सहित ५२ जनाले ज्यान गुमाईसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
२२ असार २०७९, बुधबार
प्रतिक्रिया