रुकुम पश्चिम, ०८ असोज । रुकुम पश्चिमको मुसीकोट नगरपालिका१ मा रहेको खलङ्गा–कारागार–पिपलनेटा सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेको छ । वर्षाका कारण असार अन्तिम हप्तादेखि यो सडक खण्ड अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भइ गाडी चल्ने अवस्था नभएपछि कारागारमा रहेका कैदीहरुलाई अस्पताल र अदालत लैजान निकै समस्या भएको कारागार कार्यालयका प्रमुख अकवीर घर्तीले बताउनु भयो ।
‘कैदीबन्दीहरु बिरामी हुँदा गाडीमा लैजानलाई बाटो छैन’, घर्तीले भन्नुभयो, ‘स्टेचरमा बोकेर अस्पताल दौडाउनुपर्ने बाध्यता छ, रातिमा बिरामी हुँदा झन् चुनौती हुने गरेको छ ।’
कैदीहरुलाई हिँडाएरै अदालत लैजानु पर्ने अवस्था छ । कारागार कार्यालयबाट रुकुम अदालत एक किलोमिटर र जिल्ला अस्पताल करिब तीन किलोमिटरको दूरीमा रहेको छ । हिँडाएरै लामो दूरीसम्म कैदीहरुलाई लैजानुपर्ने भएकाले सुरक्षा चुनौती रहेको प्रहरीहरु बताउँछन् । कार्यालय जाने सडक ठप्प हुँदा कारागार कार्यालयको गाडी जिल्ला प्रशासन कार्यालयमा राख्नु परेको कार्यालयले जनाएको छ ।
वर्षातमा आएको भलको कारण यस सडक खण्डमा चिरा परेको छ । मुसीकोट नगरपालिका १ को बराहाटाकुरादेखि कारागारसम्मको बाटोमा नाला नहुँदा सडकबाटै पानीको भल बग्ने गरेको छ ।
खलङ्गा बजारको नाला समेत यही सडक खण्डमा मिसिएका कारण पैदल हिँड्न गाह्रो भइरहेको स्थानीय रविलाल नेपालीले बताउनुभयो । सडक अवरुद्ध भएको लामो समय भइसक्दा पनि सम्बन्धित निकायले कुनै पनि चासो नदिएको नेपालीको गुनासो छ । सडक अवरुद्ध भएपछि खलङ्गा बजारबाट कारागार हुँदै पिपलनेटा जाने यात्रु तथा गाडी मुसीकोट नगरपालिका(५ सेरिगाउँ पुगेर घुम्नुपर्ने बाध्यता छ ।








प्रतिक्रिया