प्रदेश

माओवादी नेता गुप्ता भ्रस्ट्राचारमा लिप्त, पक्राउ पुर्जी जारी भएपनि प्रहरीको बेवास्ता



बुटवल ९ असोज । लागु औषध मुद्दामा पक्राउ पुर्जी जारी भएका पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार सम्बन्धी अख्तियार र सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दर्जन बढी उजुरी परेका छन्।
२०७४ को स्थानीय चुनावमा गाउंपालिका अध्यक्षमा निर्वाचित भएपछि गुप्ताले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानवीन गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरु परेका हुन्।
विगतमा नवलपरासीको पाल्हिनन्दन–३ बेलासपुर गाउंमा निर्वाहमुखी कृषि र सुर्तिको फुटकर कारोबारबाट जिविकोपार्जन गर्दै आएका गुप्तामाथि गाउंपालिका अध्यक्षमा निर्वाचित भएपछि सुनवल,बुटवल,अर्घाखांची लगायतका स्थानमा अर्ब बढी मूल्यका घर,जग्गा र सम्पत्ति आर्जन गरेकाले आम्दानीको स्रोत छानवीन गरी कारवाहीको माग गरिएको छ।
अख्तियारमा परेको उजुरी अनुसार गुप्ताले श्रीमती शारदा आचार्य गुप्ताको नाममा सुनवलमा ५ कठ्ठा जग्गामा ३ तले, बुटवलमा ३ तले र अर्घाखांचीमा आलिशान भवन बनाएका छन्। यस्तै गुप्ताले गाउपालिका भवनको दक्षिणतर्फ सांधमा जितबहादुर र प्रेमबहादुर चौधरीको नाममा रहेको ५ कठ्ठा जग्गा ४० लाखमा खरिद गरेको देखाई आफ्नो बुबा बंशराज तेलीको नाममा पास गराएका छन् भने पाल्हिनन्दन–३ मा पनि ३ तले घर र वडा नं ४ मा ४ कठ्ठामा २ तले घर र गोदाम बनाएका छन्। पालिका अध्यक्षमा निर्वाचित भएपछि यसरी अस्वभाविकरुपमा सम्पत्ति आर्जन गरेको देखिएकाले छानवीन गरी अकुत सम्पत्ति जफत गर्न उजुरीमा माग गरिएको छ।
गाउपालिकाको भवन निर्माणका क्रममा ७ करोड ४९ लाख रुपैयाको ठेक्का सम्झौताविपरित कार्यपालिका वैठकको निर्णय नगरी प्रत्येक आर्थिक वर्ष भेरियन्स अर्डर गरी करिब ३ करोड बढी वजेट भुक्तानी गरेर ठेकेदारबाट लाभ लिएको आरोप छ। उक्त भवन निर्माण वापत एक करोड ४० लाख बक्यौता भुक्तानी गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकबाट भुक्रानी गर्ने निर्णय गराएका छन् । उक्त रकमबाट अध्यक्ष र कर्मचारीले रकम बांडफांड गरेकाले छानवीनको माग गरिएको छ ।
यस्तै डिजिटल भिलेज प्रोफाइल ५–५ वर्षमा मात्र अध्यावधिक गर्नुपर्ने नियमविपरित ५ वर्ष नपुग्दै निर्माण गरेर लाखौं रकम भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ। २०७५ मा डिजिटल भिलेज प्रोफाइल बनाएवापत ४० लाख भुक्तानी भएकोमा २०७८।७९मा पुनः २० लाख भुक्तानी गरिएको छ। यस्तै मेड नेपाल नामक गैर सरकारी संस्थाबाट पालिकाका ६ सय ७५ विपन्न परिवारलाई ३४५० रुपैयांका दरले बांड्न प्राप्त रकममा पनि फर्जी काम गरी अनियमितता भएकाले छानवीनको माग गरिएको छ।
यस्तै गाउंपालिकाका विपन्न परिवारलाई बांड्न छुट्टाइएको ३० लाख रुपैयांमा पनि अध्यक्ष गुप्ताले अनियमितता गरेको देखिएको छ । उक्त रकम आफू निकट करारका कर्मचारीहरु प्रदीप तिवारी,पशुपति गुप्ता,नर्वदेश्वर गुप्ता र आफ्नो गाडी चालक प्रदीप चौधरीको नाममा साढे २ लाखदेखि ४ लाखसम्म पेश्की वापत बुझाएर आफूले लिएको उजुरीमा उल्लेख छ। यो विषय थाहा भएपछि अध्यक्ष गुप्ताले केही रकम गाउंपालिकाको खातामा जम्मा गर्न लगाएका थिए।
उनीमाथि गाउंपालिकाका दर्जनौं योजनाहरुमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसंग मिलेमतो गरेर ठूलो रकम आर्थिक हिनामिना र गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा पनि उजुरी परेको छ। उजुरीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम,लेखा अधिकृत शरद न्यौपाने र इन्जिनियर उमेश शर्मालाई अध्यक्ष गुप्ताले प्रभावमा पारेर अनियमितता र भ्रष्टाचार गरेको आरोप छ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६