दाङ, २१ असोज ।
अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । देउखुरी क्षेत्रमा वस्ती जलमग्न भएका छन् भने ठाउँ(ठाउँमा सडक अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी राजन गौतमका अनुसार देउखुरी क्षेत्रमा पर्ने राप्ती गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ नम्बर वडाका वस्तीमा जलमग्न भएका छन् । सिसहनियामा दोलई खोलाको बाढी पसेर इलाका प्रहरी कार्यालय पनि डुबानमा परेको छ । डीएसपी गौतमका अनुसार इलाका प्रहरी कार्यालयमा ३ ४ फिटसम्म पानी जमेको छ ।
जमेको पानीलाई निकास दिने र डुबानमा परेका घर परिवारलाई उद्धारको काम जारी रहेको उनले जानकारी दिए । सो क्षेत्रमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख सहितको टोली स्थलगत अनुगमनमा गएको छ ।
प्रहरीका अनुसार बेलदमार भन्ने स्थानमा पहिरो जाँदा लमही-घोराही सडकखण्ड अवरुद्ध भएको छ । कालाकाटे(भालुबाङ, भालुबाङ-प्युठान र अमेलिया-लमही सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । कालाकाटे(गढवा सडक खण्डमा पर्ने ठाडो खोलाहरुमा आएको बाढीका कारण यात्रा कष्टकर भएको छ ।
पानीको उचित निकास नहुँदा सदरमुकाम घोराहीको ट्राफिक चोक नजिकको साई मन्दिर क्षेत्रका केही घर जलमग्न भएका छन् । स्थानीय जनप्रतिनिधिको सहयोगमा पानीको निकास दिने काम भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया