प्युठान, २१ असोज ।
प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
पहिरोमा बमबहादुरसहित उहाँकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएको वडाध्यक्ष घर्ती मगरले बताउनुभयो । पहिरो गएको ठाउँ नजिकै रहेका तीन वटा घरका परिवारलाई अन्यत्र सारिएको छ ।
पहिरो आउन थालेपछि घरका सामान ओसार्ने क्रममा बमबहादुरका परिवारलाई पहिरोले पुरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले उज्यालोलाई जानकारी दिनुभयो । पहिरोले सडक बन्द भएको र खोला बढेका कारण ६ घण्टासम्म पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोली घटनास्थलसम्म पुग्न सकेको छैन । उद्धार टोली आज घटनास्थलमा पुग्न सक्ने सम्भावना कम रहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।








प्रतिक्रिया