डडेल्धुरा, २६ असोज । डडेल्धुरामा पाँचजना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन्। प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका ३ र प्रदेशसभातर्फ उम्मेदवारी दिएका २ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिनिधिसभातर्फ एमालेबाट उम्मेदवार बनेका चक्रप्रसाद स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदनपछि स्नेहीको नाम उम्मेदवारको सूचीबाट हटाइएको वाग्लेले बताए। स्नेही राष्ट्रियसभाको ४ वर्षे कार्यकाल पूरा गरेका नेतासमेत हुन्।
उनका अनुसार प्रदेशसभा १ मा नेपाली कांग्रेस वीपी का गणेशप्रसाद जोशी र प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। डडेल्धुरामा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका छन्।
प्रतिनिधिसभाका ३ जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब संघमा ८ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्।प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रस वीपीका कर्णबहादुर मल्ल, एमालेका बागी विक्रम शाही, राप्रपाका गोविन्द खडायत, जनता समाजवादी पार्टीका श्याम सिनाल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल ‘मम्याल बाजे’ र लालबहादुर कठायतबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
प्रदेशसभामा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धन दलबाट डडेल्धुरामा प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट र प्रदेशसभा २ मा नेपाली कांग्रेसका गोविन्दराज बोहराले उम्मेदवारी दिएका छन्।
प्रदेशसभा १ मा नेकपा एमालेबाट पठानसिंह बोहरा र प्रदेशसभा २ मा गजेन्द्र शाही, प्रदेशसभा २ मै स्वतन्त्र डा तारा जोशीको उम्मेदवारी छ।
प्रदेशसभा २ बाट राप्रपाबाट पदमराज जोशी तथा स्वतन्त्र महेश धामी र धनबहादुर बोहराको उम्मेदवारी छ। प्रदेशसभा २ मा राप्रपाबाट खेमराज पनेरु, जसपाबाट नरभान पार्की, स्वतन्त्रबाट तेजबहादुर कठायत र नवराज धिक्तको पनि उम्मेदवारी छ।









प्रतिक्रिया