बुटवल, ०१ कार्तिक । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चालू आर्थिक वर्षको ३ महिनामा २७ लाख १८ हजार रुपैयाँ भेटि संकलन भएको छ ।
लुम्बिनी विकास कोषले आईतबार र सोमबार गरि २ दिनसम्म आन्तरीक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटिको गणना गरेको थियो ।
पहिलो दिन १० लाख ८१ हजार र दोस्रो दिन सोमबार १६ लाख ३६ हजार गरि २७ लाख १८ हजार रुपैयाँ भेटि वापत दान संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरण ले जानकारी दिनुभयो ।
कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा आईतबार दानपेटिका खोलिएको थियो ।
मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको २४ जनाको टोलीले गणना गरेको थियो । तीन दिन लाग्ने अनुमान गरिएपनि २ दिनमै भेटिको गणना सकिएको कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।
सिसिटिभि क्यामेरा जडान गरि गणनालाई पारदर्शी बनाइएको कोषले जनाएको छ । यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रुपमा दानलाई लिने गरिएको छ ।








प्रतिक्रिया