काठमाण्डौ, ०८ कार्तिक ।
नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको बेलुका पनि भारतमा बिजुली निर्यात गरेको छ । नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न थालिएसँगै पहिलो पटक यसपालि प्राधिकरणले लक्ष्मी पूजाको बेलुका पनि बिजुली भारत निर्यात गरेको हो । प्राधिकरणका अनुसार हिजो बेलुका पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको छ ।
लक्ष्मी पूजाको बेलुका ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग थियो । त्यो समयमा १ हजार ३ सय ५ मेगावाट बिजुली खपत भएको प्राधिकरणले जनाएको छ । गएको वर्ष लक्ष्मी पूजाको दिन पिक आवरमा बिजुलीको माग १ हजार २ सय ७० मेगावाट थियो । गएको वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाका बेला पिक आवरको माग ३५ मेगावाटले बढी हो ।
विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि बिजुली आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मीपूजाको ‘पिक लोड’ धानेको छ । अझ खपत हुन नसकेको बिजुली भारत समेत निर्यात भएको छ भने २ सय मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएको जेठ १९ गतेदेखि बिक्री सुरू गरेको थियो ।नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेच्ने लक्ष्य रहेको बताउनु भएको छ ।








प्रतिक्रिया