प्रदेश

यस वर्षका लागि सकियो अर्घाखाँचीको मौलिक भैरव नाच




प्रेमनारायण आचार्य
अर्घाखाँची, ०८ कार्तिक ।

अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा नाचिने भैरव नाच यस वर्षका लागि सकिएको छ । भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ ।

भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कात्तिक औँसीसम्म नाचिन्छ । देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता रहेको छ । जसका कारण भैरव नाच यस वर्षका लागि सकिएको हो ।

भैरव नाच सात ताल (पटक)सम्म नाचिन्छ । सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ । बीचमा छोटो विश्रामपछि पुनः सुरु हुन्छ । यसमा काल भैरव मुख्य हुन्छ भने श्वेत भैरव र रक्त भैरव सहायक हुन् । साथमा डङ्किनी पनि हुने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।

भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ । यद्यपि, डङ्किनीलाई पनि पूजा गरिन्छ । डङ्किनी नारी स्वरुपको हुन्छ । पुरुष नर्तकले महिलाको भेषमा श्रृंगार गरेको हुन्छ । यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अंगका रुपमा रहँदै आएको छ ।

तीन वटै भैरव आफ्नो भूमिका अनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चमर (चौँरी गाईको पुच्छर), मालासहित श्रृंगार गरी भगवानको विशाल आकृति निर्माण गरिने लात्तेबाज भैरव नाच संरक्षण समिति तथा भुमिकास्थान नगरपालिका ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

भैरवलाई आकर्षक बनाउन समयसापेक्ष श्रृंगार सामग्रीको पनि प्रयोग गरिन्छ । यसपछि तान्त्रिक विधिबाट पूजा गरी नाच सुरु गरिन्छ । बाजा बजाउनेहरू मुख्य रूपमा नेवार समुदायकै भए पनि सहायक वाद्यवादकमा अन्य जातजातिका पनि सहभागी हुन्छन् । यसले जातीय सद्भावलाई झल्काउँछ । यसमा मुख्य गरी खीं बाजा (मिर्दुङ) लाई गुरु मादलका रुपमा राखिन्छ भने साथमा झुर्मा (झ्याली), सहनाइ, धंकुरी लगायतका वाद्यवादन प्रयोग गरिन्छ ।

सात वटै ताल (पटक) को लय फरक–फरक हुन्छ । तान्त्रिक विद्यामा निपुणहरुलाई विशेषगरी पाँच ताल र छ तालमा भैरव उत्रिन्छ । यसरी काम्नेमा दर्शक पनि हुन सक्छन् र नर्तक पनि । भैरव नाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि पुर्याउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुने गर्दछन् ।

नाचलाई रोचक बनाउन लाठी नाच (टाकुनडोली), घोडा नाच, चरा नाच, लाहुरे लाहुरेनी नाच लगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने उद्योग वाणिज्य संघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्र प्रसाद श्रेष्ठले बताउनुभयो ।

नेवार समुदायका विभिन्न प्रचलित एवम् ऐतिहासिक नाच मध्येको एक भैरव (भैरम) नाच यस समुदायभित्र मात्रै होइन अन्य समुदायका बीचमा पनि लोकप्रिय छ ।

भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेख लगायतका क्षेत्रमा नाचिन्छ । यसको शैली भिन्ना–भिन्नै छ ।अर्घाखाँचीको भैरव नाच गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देही लगायतका क्षेत्रमा पनि लोकप्रिय छ ।

यसको विशिष्ट प्रकारको बाजाको ताल, नर्तकहरुमा उजागर हुने एक किसिमको ऊर्जाले (अलौकिक शक्तिको आभास) समेत प्रदान गर्छ । जसका कारण यसले अन्य समुदायका व्यक्तिलाई पनि मोहित पार्ने गरेको छ ।

प्रकाशित : ८ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६