नेपालगन्ज १२ मङ्सिर । कोहलपुर नगरपालिकाले बजार क्षेत्रका ८७२ वटा अनधिकृत होडिङ बोर्ड र फ्ल्यास बोर्ड हटाएको छ ।
नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गको छेउछाउमा राखिएका त्यस्ता अनधिकृत र मापदण्ड विपरीतका होडिङ बोर्ड तथा फ्ल्यास बोर्डहरू हटाइएको नगरपालिकाले जनाएको हो । विज्ञापन प्रयोजनका लागि नगरपालिकाको स्वीकृति बिना राखिएका विभिन्न सङ्घसंस्थाका २२० वटा होडिङ बोर्ड र ६५२ वटा फ्ल्यास वोर्डहरु हटाइएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बताउनुभयो ।
उहाँले अटेरी निर्देशन पालना नगर्नेलाई जरिवाना समेत गरिएको बताउनुभयो । मेयर आचार्यका अनुसार अहिलेसम्म २० हजार ५०० रुपियाँ जरिवाना असुल गरिएको छ । नगरपालिका प्रहरीको नियन्त्रणमा रहेका ती होडिङ वोर्डहरु जरिवाना गरेर सम्बन्धित निकायलाई बुझाउने काम समेत भइरहेको पनि आचार्यले बताउनुभयो ।
अहिलेसम्म ४१ वटा होर्डिङ बोर्ड सम्बन्धित धनीले जरिवाना तिरेर लगिसकेका छन् । नगरपालिकाको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड र फ्ल्यास वोर्डहरु जरिवाना तिरेर लैजान ७ दिने सूचना जारी गरिएको छ । यदि ७ दिनभित्र लिन नआएको खण्डमा नगरपालिकाले कानुन अनुसार लिलामी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
१२ मंसिर २०७९, सोमबार
प्रतिक्रिया