प्रदेश

३० दिनमै ढल्यो सुदूरपश्चिम सरकार, मुख्यमन्त्री रावल पदमुक्त



काठमाण्डौ, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त हुनुभएको हो ।

आज बिहीवारको प्रदेश सभामा विश्वासको मतलाई सभामुखले निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन नपाएसँगै सरकार ३० दिनमै ढलेको हो । यसअघि गएको पुस २७ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

तर पहिले समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएको भन्दै अहिले साथ नदिएपछि एमालेको तर्फबाट मुख्यमन्त्री बन्नुभएका रावल पदमुक्त हुनुभएको हो । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएर अरू माग पनि राख्दै आएको थियो । माग पूरा नहुँदासम्म सरकारलाई विश्वासको मत नदिने अडान लिएको नागरिक उन्मुक्ति पार्टीले अडान नछाड्दा सरकार ढलेको हो ।

नागरिक उन्मुक्ति पार्टीको समर्थन जुटाउन केन्द्रबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहल गरे पनि सफल हुनुभएन । यसअघि हिजो बुधवार नै विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेलाई बोलाइएको बैठक आज १ बजेसम्मका लागि सरेको थियो तर त्यस बेलासम्म पनि रावलले विश्वासको मत जुटाउन नसकेपछि बैठक ४ बजेलाई सारिएको थियो ।

सुदूरपश्चिममा अब कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल सुरु हुनेछ । संविधान बमोजिम मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । तर कांग्रेस नेतृत्वमा बन्ने सरकारले बहुमत पाउन पनि सजिलो हुने छैन ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् । सरकार गठनका लागि कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ । कांग्रेसलाई सरकार गठनका लागि एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति वा माओवादीको साथ आवश्यक पर्छ । तर त्यहाँ माओवादी या नागरिक उन्मुक्ति पार्टीले गठबन्धन फेरेर सरकार बनेमा केन्द्रमा एमाले नेतृत्वको सत्ता गठबन्धन नै समस्यामा पर्नेछ ।

प्रकाशित : २६ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६