अर्घाखाँची, २२ फागुन । रोजगारीका लागि संयुक्त अरब इमिरेन्ट्स (यूएई) को दुबई पुग्नुभएका अर्घाखाँचीका एक युवा बिचल्लीमा पर्नुभएको छ । मालारानी गाउँपालिका–१ फाप्रेका जीवनराज आचार्यले आफूलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिन अपिल गर्नुभएको हो । उहाँले भन्नुभयो, मेरो स्वास्थ्य अवस्था बिग्रेको छ । म नेपाल फर्कन चाहन्छु सहयोग गर्नुहोस् ।’
आचार्य २४ दिनअघि काठमाण्डौमा रहेको गणपती ओभरसिज नामक म्यानपावर कम्पनीबाट दुबई पुग्नुभएको थियो । म्यानपावर कम्पनीले ‘काम सजिलो र आरामदायी छ, सामान प्याकिङ गर्ने हो’, भनेर पठाएको उहाँले बताउनुभयो । सर्तअनुसारको काम नपाएको उहाँको गुनासो छ । ‘यहाँ म बिजोग अवस्थामा छु, १२ घण्टा उभिएर काम गर्नुपर्छ । एक सेकेन्ड यताउता गर्न पाइँदैन ।’
अहिले आफ्नो आँखामा गम्भीर समस्या आएको जीवनको भनाइ छ । उहाँले भन्नुभयो, ‘आँखा दुखेर नजिकैको वस्तु पनि चिन्न नसक्ने अवस्थामा छु । कम्पनीले पानी पिएपछि निको हुन्छ भन्छ । उपचारका लागि कम्पनीमा धेरै पटक कुरा गरेँ तर कसैले मेरो समस्या सुन्दैनन् । जतिसक्दो नेपाल फर्किएर आँखाको उपचार गर्न मन छ, नत्र मेरो आँखा खत्तम हुने भयो ।’
आफूले काम गर्ने कम्पनी जेलभन्दा कम नभएको भन्दै आफू त्यहाँबाट मुक्त हुन चाहेको जीवनले बताउनुभयो । ‘म कुनै पनि हालतमा नेपाल फर्किन चाहान्छु । कृपया मलाई सहयोग गरी नेपाल फर्काउने पहल गरिदिनुहोला’, उहाँले भन्नुभयो ।








प्रतिक्रिया