समाचार

गर्मीयाम सुरु भएसँगै देखा परेको लम्पी स्किन रोग महामारीका रुपमा फैलियो



जेठ १९,काठमाण्डौ – नेपालमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग महामारीका रुपमा फैलिएको छ । पशु सेवा विभागका अनुसार गर्मीयाम सुरु भएसँगै देखा परेको यो रोग अहिले देशभर फैलिएको छ । अहिले देशका ४० जिल्लामा झण्डै ४ देखि ५ लाख पशुचौपायामा सङ्क्रमण फैलिएको विभागको तथ्याङ्क छ ।

त्यस्तै, ६ हजारभन्दा धेरै सङ्क्रमित पशु चौपाया मरेका छन् । ७ वटै प्रदेशका गरी ३ सय ५० पालिकामा रोग देखिएको विभागले जनाएको छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या पनि बढ्ने र ती किरा सक्रिय हुने भएकाले जोखिम कायमै छ ।

आफूले पालेका पशुचौपायामा लम्पी स्किन रोग देखिएपछि किसान चिन्तित बनेका छन् । विभागका वरिष्ठ पशु विकास अधिकृत डा।चन्द्र ढकालका अनुसार गाईभैँसीमा लाग्ने सङ्क्रामक यो रोग मुख्य गरी लामखुट्टे, किर्नाजस्ता किराको टोकाइबाट सर्ने गर्छ । अहिले उच्च गर्मी र लामखुट्टे तथा किर्ना सक्रिय हुने बेला भएकाले पनि पशुचौपाया जोखिममा परेका डा। ढकाल बताउनुहुन्छ ।

लम्पी स्किन रोगको सङ्क्रमण भएका धेरै पशु नमर्ने भए पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने हुँदा किसानलाई आर्थिक रुपमा क्षति हुने गरेको छ । यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । सङ्क्रमित गाईभैँसीको मुख, नाक, खुट्ट तथा छालामा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।

तर यो रोग रोगी पशुचौपायाबाट मानिसमा नसर्ने अनि रोगी गाईभैँसीको दूध प्रयोग गर्दा पनि मानिसमा कुनै जोखिम नहुने भएकाले दूध खेर फाल्नु नपर्ने डा।ढकालको भनाइ छ । तर सङ्क्रमित गाईभैँसीको ओसारपसार र उनीहरुसँग हुने लसपसबाट स्वस्थ पशुमा सर्ने सम्भावना उच्च हुन्छ । किसान आफैँले तथा उपचारमा संलग्न प्राविधिकले निसङ्क्रमणका उपाय अपनाउनुपर्नेमा उहाँको जोड छ ।

यस रोग रोकथामका लागि लामखुट्टे, किर्नाको सङ्ख्या नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा राख्न विभागले अनुरोध गरेको छ । रोग एक ठाउँबाट अर्को ठाउँमा फैलन नदिन पनि सङ्क्रमित क्षेत्रबाट पशुको ओसारपसार नगर्न सुझाव छ । अहिले सम्भव भएसम्म बजारमा पाइने खोप स्वस्थ्य पशु चौपायामा लगाउन सकिने तर सङ्क्रमित पशुलाई खोप नलगाउन र एक पटक सङ्क्रमित भएर निको भएको पशुमा खोप लगाउन आवश्यक नपर्ने डा।ढकाल बताउनुहुन्छ ।

पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ साल असारमा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । आर्थिक वर्ष २०७७र०७८ मा आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो भने भने २०७८र०७९ मा नौ जिल्लाका १९ पालिकामा रोग विस्तार भएको थियो । पोहोर यो रोग छिटपुट मात्रै देखिए पनि अहिले देशैभर फैलिएको छ ।

लम्पी स्किन रोग यसपालि हिमाली क्षेत्रमा पालिएका पशुचौपायामा समेत देखिएको छ । भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग आफैँ निको हुन्छ । यो रोगबारे थप जानकारी र सल्लाहका लागि विभागले नजिकैको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६