कपिलवस्तु, २९ जेठ ।
विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना एक्सेस सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ । आयोजनाको लागत २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) हो ।
यो आयोजनाले नेपालमा छानिएका व्यापारिक करिडोरमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्ने विश्व बैंकले जनाएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले यो आयोजनाको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा मन्त्री ज्वालाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा यो आयोजनाले सहयोग गर्ने बताए । यस आयोजनाबाट नेपालका विभिन्न प्रदेश र छिमेकी मुलुकसँग यातायात र व्यापार आवद्धता बढाउने भन्दै यसले नयाँ आर्थिक सम्भावनाको ढोका खोल्ने समेत उनले बताए ।
दुई लेनमा रहेको पूर्व–पश्चिम राजमार्गलाई अहिले धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ । यसबाट यस सडकमा यात्रा गर्ने समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुने छ ।
विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले यो आयोजनाको कार्यान्वयनबाट नेपालमा क्षेत्रीय व्यापार बढाउने बताए । यो आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा कार्यान्वयन गर्नेछन् । नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा यो आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।
प्रतिक्रिया