कृषि

खडेरीले मकैका बोट सुके



दाङ, ३० जेठ । लामो समयसम्म खडेरी हुँदा दाङमा किसानले लगाएको मकै बाली सुक्न थालेको छन् । गाेड्नुपर्ने समयमा मकैका बोट खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । समयमा पानी पर्न नसक्दा झन्डै तीन हप्ताअघि छरिएका मकै, तरकारीका बेर्ना बारीमै सुक्न थालेका छन् ।

खडेरीसँगै तापक्रम बढेपछि गोड्ने समय भएका मकैका बोट सुक्न थालेका हुन् । बारीमा रोपिएका मकैका बोट सुक्ने र ओइलिने गर्दा आफूहरू चिन्तामा परेको घोराही उपमहानगरपालिका–१२ हापुर तुलसीगञ्जका किसान बुद्धिराम शर्मा बताउनुभयो । 

खडेरीका कारण मकैका बोट ओइलाउने र सुक्न थालेपछि मेहनत खेर जाने हो कि भन्ने चिन्ताले पिरोलेको घोराही उपमहानगरपालिका–१२ की किसान रीता भट्टराईले गुनासाे गर्नुभयाे । मकैमात्र नभएर सबै बर्खे बाली यति बेला सुक्ने र मर्ने अवस्थामा पुगेको घोराही उपमहानगरपालिका–५ का अर्का किसान शेरबहादुर वली बताउनुहुन्छ ।

यस्तै खडेरीका कारण धान रोप्नका लागि राखेको बिउको ब्याडमा पानी नहुँदा धाँजा फाटेको छ । धेरैजसो ठाउँमा किसानले अहिलेसम्म पनि धानको ब्याड राख्न सकेका छैनन् । गएकाे जेठ १२ गते पानी परेसँगै किसानले मकै छर्नुका साथै धानको ब्याडका लागि बिउ किनेका थिए । तर असार लाग्नै लाग्दा पनि पानी नपरेपछि बिउ राख्न नपाएको किसान बताउँछन् ।

जिल्लामा पानी लाग्ने खेतमा बिउ राखिए पनि अकाशेपानीको भर पर्नुपर्ने किसानलाई यो वर्ष धानको बिउ राख्नै समस्या भएको स्थानीय पदम गिरीले बताउनुभयो । ‘धानको बिउ किनेर ल्याएको १५ दिन भयो, पानी नभएर राख्नै सकिएको छैन’, उहाँले भन्नुभयो। त्यस्तै तुलसीपुर–१० का किसान माधवकुमार वलीले पनि यो वर्ष सिँचाइको व्यवस्था नभएकाले धानको बिउ राख्न पनि आकाश हेरेर बस्नुपर्ने बाध्यता भएको सुनाउनुभयाे ।

धान खेतीका लागि पर्याप्त सिँचाइ नहुँदा जिल्लामा बर्सेनि समस्या हुने गरेको छ । घोराही र तुलसीपुरमा धेरैजसो खेती आकाशेपानीकाे भरमा हुने गरेको छ । खोलमा पानी नभएकाले पनि धेरै किसान आकाशे पानीको पर्खाइमा छन् । लमहीमा भने धेरैजसाे किसानले धानको बिउ राख्नुका साथै केहीले धानसमेत राेपिसकेका छन् ।

प्रकाशित : ३० जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६