घोराही, २ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ। दाङको घोराहीमा भएको सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै मन्त्री शर्माले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौतीका रूपमा देखा परेको बताउनुभएको हो। साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भङ्ग हुँदै गएको भन्दै मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माण लागेको बताउनुभएको थियो।
सूचना तथा प्रविधिको दुरुपयोग गर्दै विभिन्न खालका अपराध बढेको भन्दै मन्त्री शर्माले यसलाई रोक्नका लागि सबैको पहल आवश्यक रहेको बताउनुभयो। गलत प्रयोगका कारण बालबालिका, किशोर किशोरीदेखि आम नागरिक विभिन्न खालको फन्दामा पर्ने गरेको भन्दै मन्त्री शर्माले कानुन निर्माणसँगै सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो। मन्त्री शर्माले सामाजिक सञ्जालको गलत प्रयोगको सिकार महिला हुनुपरेको भन्दै सूचना प्रविधि तथा सामाजिक सञ्जालका बारेमा महिला सचेत हुनुपर्ने बताउनुभएको थियो। सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषय सम्बन्धी राष्ट्रिय सम्मेलनलमा सञ्चार, साबर सुरक्षा नीति, कानुनलगायतका विषयमा छलफल भइरहेको छ।
२ असार २०८०, शनिबार
प्रतिक्रिया