प्रदेश

शिवराज नगरपालिकाद्धारा १ अर्ब २७ करोड ८ लाखको बजेट सार्वजनिक



चन्द्रौटा,१० असार ।
कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि १ अरब २७ करोड ८लाख ५० हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाका मेयर अजय थापाले नीति तथा कार्यक्रम र उपमेयर शिवकुमारी थारुले बजेट सहित कार्यक्रम नगर सभामा पेस गर्नुभएको हो ।


उक्त बजेटमध्ये नगर स्तरीय योजनामा ३ करोड ८५ लाख, नगर स्तरीय विविध कार्यक्रम १ करोड,वडा स्तरीय योजना ९ करोड ३५ लाख,सामाजिक विकास तर्फ ५५ लाख,प्रशासनिक तर्फ १२ करोड रकम विनियोजन गरिएको छ ।
बहु वर्षीय क्रमागत कार्यक्रम २ करोड ५३ लाख,समपूरक म्याचिङ २ करोड ६० लाख ,नगर स्तरीय पूर्वाधार विकास १ करोड बजेट विनियोजन भएको छ । शिक्षा तथा खेलकुद ८ करोड ३२ लाख,स्वास्थ्य तर्फ ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
नगरले कृषि विकासमा १ करोड ,पशु विकास तर्फ ५० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाको नीति र कार्यक्रममा निःशुल्क शिक्षा सहित कृषि, पशुपालन र सरसफाइ जस्ता विषय समेटिएका छन् । शैक्षिक सुधार र पर्यटन विकासलाई पनि प्राथमिकतामा राखिएको नगरप्रमुख अजय थापाले बताउनुभयो ।


मौवाको लोकल मदिरालाई ‘ब्राण्डिङ’
शिवराज नगरपालिकाले स्थानीय समुदायमा उत्पादित मौवाको लोकल मदिरालाई ‘ब्राण्डिङ’ गर्ने घोषणा गरेको छ । आज ९आइतबार० नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले आव २०८०÷०८१ को बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मौवाको मदिरालाई ‘ब्राण्डिङ’ गर्ने बताएकी हुन्।
‘स्थानीय समुदायमा प्रचलनमा रहेको मौवाको मदिरा पदार्थलाई व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु,’उनले भनिन् । नगर प्रमुख अजय थापाले स्थानीय उत्पादनलाई ब्रान्ड बनाउन सकेमा स्थानीयलाई रोजगारी सिर्जना हुने बताए । शिवराजमा मौवाबाट उत्पादन रक्सीलाई विदेश सम्म निर्यात गर्न सकेमा ठुलो उपलब्धि हासिल हुने बताए ।


बजार सौन्दर्यीकरण
शिवराज नगरपालिकाले चन्द्रौटा बजारलाई सौन्दर्यीकरण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजारमा चन्द्रौटालाई व्यवस्थित बनाउनुको साथै बसपार्क निर्माण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख अजय थापाले सुन्दर बजार बनाउने आफ्नो योजना रहेको बताए । सडकलाई व्यवस्थित बनाउँदै सौन्दर्यीकरण बनाउने थापाको भनाई छ । बजेट सार्वजनिक गर्दै उपप्रमुख शिवकुमारी थारुले बजारलाई सौन्दर्यीकरण तथा बसपार्क निर्माणको लागि २५ लाख विनियोजन गरेको बताइन ।


उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत
शिवराज नगरपालिकाले पाँच जनालाई सम्मान गरेको छ । १३ औ नगर सभाको अवसरमा ३ जना पत्रकार र २ जना कर्मचारीलाई नगद सहित सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार सञ्जीव गहतराज,कृष्ण गैरे र माधव बेल्वासे रहेका छन् । नगरको विकासको लागि अहोरात्र खटेर कलम चलाएको भन्दै सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट कर्मचारीको रूपमा प्रेम वली र वसन्त महतरालाई नगद सहित सम्मान गरिएको छ ।

प्रकाशित : १० असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६