खोज–अनुसन्धान

कांग्रेस रुपन्देहीको विवाद छताछुल्ल : पोखरेल माथिको कारवाही उल्टाइयो




रुपन्देही १ भदौ । रुपन्देहीको क्षेत्र नं। ५ मा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा दुई गुटबीच पार्टीकै कार्यक्रममा हात हालाहालको अवस्था आएको छ ।उक्त क्षेत्रबाट पटक(पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आएका नेता भरतकुमार शाह मंसिर ४ को आमनिर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएसँगै क्षेत्रमा घातअन्तरघातको विवाद सुरु भएको थियो ।०७४मा वाम गठबन्धन हुँदासमेत फराकिलो अन्तरले शाहले जितेको क्षेत्रमा अहिले ५ दलको बलियो गठबन्धन हुँदा पनि १० हजार मतान्तरले पराजय व्यहोरेपछि शाह पक्षले कांग्रेस युवा नेता विष्णु पोखरेललगायतका कारण हार भएको आरोप लगाएपछि विवाद झागिँदै गएको हो ।
पोखरेल पार्टीमा शेखर कोइराला समूहका हुन् । उनले प्रदेश सभा सदस्यमा टिकट पाएर पनि खोसिएको थियो । पोखरेललाई कारवाहीको सिफारिस गरेपछि पार्टीभित्र विवाद बढ्दै गएको हो ।सैनामैना नगर सभापति रणबहादुर खनालले शाहको निर्देशनमा चुनावमा असहयोग गरेको आरोप लगाउंदै पोखरेललाई कारवाही सिफारिस गरेका थिए । तर सैनामैनासहित रुपन्देही ५ का ३२ वटा वडाका सभापति र २७ जना महाधिवेशन प्रतिनिधिमध्ये झण्डै दुई तिहाईले पोखरेललाई कारबाही सिफारिसको विपक्षमा उभिएका पोखरेल पक्षको दाबी छ ।
नेता पोखरेलले भने, ‘पार्टीको एक पक्ष बसेर पुरानो मितिमा मलाई कारबाहीको निर्णय गरेको रहेछ, हस्ताक्षर दुरुपयोग भएको साथीहरुले संकेत पाएपछि विरोध भयो र त्यो निर्णय दुईतिहाईले उल्टिएको छ, यस्ता विषयले पार्टीलाई कमजोर बनाउने चिन्ता कार्यकर्तामा बढेको छ, पार्टीको बफादार सिफाईलाई आधारबिहीन आरोप लगाएर पार्टी बलियो बन्दैन ।’शाहको क्षेत्रमा उनलाई बलियो साथ दिंदै आएका कांग्रेस प्रदेश समिति सदस्य एवम् यसअघि लुम्बिनी प्रदेश सभामा पार्टीका प्रमुख सचेतक फखरुद्दिन खानले पनि शाहको साथ छाडेपछि शाह थप कमजोर भएका छन् । शाह पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् भने खान र पोखरेल शेखर कोइराला समूहका हुन् ।केही दिनअघि पार्टीको आन्तरिक विशेष अभियानमा नेता शाहले खानलाई लक्षित गरी ‘खानजस्ता नेता कांग्रेसमा थुप्रै रहेका’ भन्दै होच्याएपछि खानले उठेर प्रतिवाद गरेपछि झडपको स्थिति उत्पन्न भएको थियो।
‘निर्वाचनमा जितहार स्वभाविक प्रकृया भएपनि शाहले निरंकुश शैलीले फरक समूहका नेतामाथि पुर्वाग्रही हिसाबले कारवाहीको सिफारिस गराउने र युवा नेतालाई होच्याउने, अपमान गर्ने भूमिका खेलेपछि उहाँ नै एक्लिंदै र कमजोर बन्दै जानुभएको हो’, महाधिवेशन प्रतिनिधि खिमानन्द खनालले बताए ।
खनालले भने, ‘समयको माग र कार्यकर्ताको भावना अनुसार चल्नुपर्नेमा तर हुकुमी शैलीमा चल्न खोज्दा उहां मात्र हैन क्षेत्रमा पार्टी नै कमजोर भएको छ ।’शाहले आफूलाई निर्वाचनमा असहयोग गरेको भन्दै विगतका आफ्नै निकट सहयोगी पोखरेल लगायतका नेताहरुलाई कारवाही सिफारिस गरेपनि अल्पमतमा परेको पोखरेल निकट नेताहरु बताउंछन् । विनाआधार र प्रमाण पोखरेलमाथिको जबरजस्ती कारबाहीको सिफारिस भएकै कारण क्षेत्रका ३२ वडामध्ये दुई तिहाई भन्दा धेरै वडा सभापतिले कारवाहीको सिफारिस पूर्वाग्रही र गलत भएको बताउँदै पोखरेलको पक्षमा उभिएका खनालको दाबी छ ।

नेता पोखरेलमाथि कारवाही सिफारिस भएपनि प्रदेश समितिले भने पोखरेललाई आन्तरिक विशेष अभियानमा पाल्पामा प्रतिनिधि खटाएको थियो ।पोखरेल क्षेत्रका अधिकांश वडाका कार्यक्रमहरुमा पार्टीबाट प्रमुख अतिथि भएर निम्ताइएका हुन्छन् । पोखरेल निकट नेताहरुले स्वयं शाहले नै फखरुद्दिन खानलाई प्रदेश सभा सदस्य निर्वाचनमा हराउन भूमिका खेलेका प्रमाण आफूसंग रहेको भन्दै उल्टो पोखरेलमाथि अन्यायपूर्वक कारवाही सिफारिस गरिएको दाबी गर्छन् ।नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले लोकतान्त्रिक पार्टीभित्र विचारको आधारमा फरक समूह हुनु स्वभाविक भएको तर यसबाट पार्टी कमजोर बनाउन नहुने बताउँछन् ।

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६