अन्तर्राष्ट्रिय

सभामुख अर्यालसँग कतारका राजदूत अन्सारीको भेट



काठमाडौँ, ८ मङ्सिर

सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीले शिष्टाचार भेट गर्नुभएको छ । सङ्घीय संसद् सचिवायस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीचको सम्बन्ध र आपसीहित विषयमा विचार विमर्श भएको थियो । सो अवसरमा सभामुखले भोटेकोशी बाढीपछि कतार सरकारले प्रदान गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद ज्ञापन गर्दै नेपालको पुन:निर्माण तथा पुन: स्थापनामा थप सहयोगको अपेक्षा गर्नुभयो । त्यस अवसरमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्य थप सुदृढ भइरहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा दुई देशबीच रहँदै आएको सहकार्यलाई निरन्तरता दिनुपर्ने र विश्व शान्ति तथा स्थायित्वका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्यमा जोड दिनुभएको थियो । उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्र्याउन आग्रह गर्नुभयो । नेपालको कृषि उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने सम्भावनाबारे चर्चा गर्दै सभामुख अर्यालले नेपालबाट उत्पादित फलफूल, तरकारी, अन्नलगायतका कृषि उपज कतारमा निर्यात गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो । त्यस्तै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सभामुख अर्यालले खेलकुदको विकास र प्रवर्द्धनका लागि पनि दुई देशबीच सहकार्य विस्तार गर्न आग्रह गर्नुभयो । भेटमा राजदूत अन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताउनुभएको सचिवालयले जनाएको छ । —

प्रकाशित : ९ मंसिर २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६