देश

अन्तरराष्ट्रिय कलमा पल्स अवधि ३० बाट ६० सेकेन्ड कायम



काठमाडौँ, ८ मङ्सिर

नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तरराष्ट्रिय कल गर्दा लाग्ने पल्सको समयावधि परिवर्तन गरेको छ । यसअघि ३० सेकेन्डको पल्स अवधि कायम रहेकामा अब सबै देशमा ६० सेकेन्डको पल्स अवधि लागू हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा पल्स अवधि परिवर्तन गरिएको हो । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राधिकरणबाट प्राप्त स्वीकृतिअनुसार अन्तरराष्ट्रिय कल गर्दा लाग्ने पल्स अवधि ६० सेकेन्ड कायम गरिएको टेलिकमले जनाएको छ । यसअनुसार अब सबै देशका दूरसञ्चार सेवा प्रदायकको सञ्जालमा अन्तरराष्ट्रिय कल गर्दा ६० सेकेन्डको पल्सका आधारमा शुल्क गणना हुनेछ । यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा ५८ देशमा ६० सेकेन्डको पल्स अवधि लागू गरिएको थियो । अब बाँकी देशमा समेत आजदेखि नयाँ व्यवस्था लागू हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकसँग अन्तरराष्ट्रिय कल गर्न विभिन्न पहुँच सङ्केत (एक्सेस कोड) को व्यवस्था गरेको छ । अन्तरराष्ट्रिय कल गर्दा सुरुमा सम्बन्धित पहुँच सङ्केत र त्यसपछि देशको सङ्केत राखेर सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने व्यवस्था रहेको छ । विभिन्न देशमा अन्तरराष्ट्रिय कल गर्दा लाग्ने दररेटबारे नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत जानकारी लिन सकिने नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित : ९ मंसिर २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६