काठमाडौं, ६ भदौ । शहीद स्मारक लिग खेल्ने ३२ क्लबले अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा भौतिक उपस्थितिमै गराउन माग गरेका छन् ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेर ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका ३२ क्लबका प्रतिनिधिले कार्यवहाक अध्यक्ष वीरबहादुर खड्का, कार्यवहाक महासचिव अरुणमान जोशी र कोषाध्यक्ष रविन्द्र जोशीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
एन्फाको ११ साउनमा बसेको बैठकले भदौ २४ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको थियो । त्यो साधारण सभा भौतिक उपस्थितिमा र विभिन्न विषयमा सहज छलफल गर्न पाउने गरी आयोजना हुनु पर्ने उनीहरुको माग छ ।
११ साउनको बैठकले लेखा परीक्षकमा एलएससी एसोसिएटलाई नियुक्त गर्ने निर्णय गरिसकेको भन्दै त्यो निर्णयलाई अनुमोदन गर्नका लागि बोलाइएको विशेष साधारण सभाको कुनै औचित्य नभएको पनि उनीहरुले बताएका छन् ।
उनीहरुले ए बी र सी डिभिजन लिग प्रतियोगिताको तयारी खर्च विगत लामो समयदेखि नपाएको भन्दै त्यो खर्च तत्काल उपलब्ध गराउन पनि माग गरेका छन् ।
क्लबहरुले बुझाएको ज्ञापन पत्र :
मिति २०८०/०५/०५
श्रीमान अध्यक्षज्यू
अखिल नेपाल फुटबल संघ
सातदोबाटो, ललितपुर ।
विषय: ध्यानाकर्षण सम्बन्धमा ।
महोदय,
उपरोक्त विषयमा आगामि २०८०।०५।२४ गते हुने भनिएको एन्फाको विशेष साधारण सभा एन्फा विधान को धारा ३६ बमोजिम सम्पूर्ण सदस्यहरूको भौतिक उपस्थितिमा गराउन जोडदार माग गर्दछौ। बिधान मा स्पष्ट रुपमा विशेष परिस्थिति, महामारी र असहज अवस्थामा मात्र भर्जुअल बैठक गर्न मिल्ने व्यवस्था भएकोले सदस्यहरूको भौतिक उपस्थितिमा विभिन्न विषय हरूमा समेत सहज छलफल गर्न पाउने बिधानको धारा ३७ (६) संम्बद्ध व्यवस्थालाई कुण्ठित नगरियोस् भन्ने हाम्रो ठम्याइ छ ।
सहज परिस्थिति रहेको अवस्थामा तथा कुनै महामारी र असहज अवस्था नभएकोले भौतिक उपस्थितिमे विशेष साधारण सभा गर्न गराउन समेत ध्यान केन्द्रित गर्दछौ।
एन्फा कार्यसमितिको २०८०।०४।१९ गते बसेको बैठकले लेखा परीक्षक एल.यस. सि. एसोसिएटलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय भै सकेको अबस्थामा पुनः सोही निर्णयलाई अनुमोदन गर्ने हेतुले बोलाईएको विशेष साधारण सभाको कुनै औचित्य नभएको साथै साधारण सभाको अधिकार कार्यसमितिले कुण्ठित गरेकोले त्यस्ता बिधान बिपरित कार्यको हामी घोर निन्दा गर्दछो कार्यसमितिले केवल साधारण सभामा लाने प्रस्ताव मात्र निर्णय गर्न सक्ने व्यवस्था रहेको समेत ध्यानाकर्षण गर्दछ ।
साथै एन्फाले आयोजना गरेको सहिद स्मारक लिग अन्तर्गत ए. बि. सि. डिभिजन लिग प्रतियोगिताको तयारी खर्च बिगत लामो समय देखि एन्फाले भुक्तानी नगरेकोले यस सम्बन्धमा एन्फा महासचिव लगायत पदाधिकारीहरु संग पटक पटक छलफल तथा बिभीन्न समयमा क्लबहरूले बक्यौता भुक्तानी सम्बन्धमा पत्राचार समेत गरिसकेको हुंदा यस सम्बन्धमा एन्फा जिम्मेवार नदेखिएकोले अबिलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न पुनः एन्फाको ध्यानाकर्षण गर्दैछौ। यस विषयमा एन्फा गम्भीरभे क्लबहरू समक्ष प्रतिबद्धता नजनाईएमा एन्फाबाट सन्चालन हुने कुनै पनि प्रतियोगिताहरूमा सहभागी नहुने समेत जानकारी गराउदै यो ज्ञापनपत्र बुझाएका छौं ।
बोधार्थ:- श्रीमान सदस्य सचिवज्यु
राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वर, काठमाडौ
प्रतिक्रिया