प्रदेश

प्युठानमा धान उत्पादन बढ्यो



प्युठान, १४ पौष । प्युठानमा यस वर्ष धान उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुई पटक खेती हुन थालेपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो ।

समान क्षेत्रफलमा दुई खेती धान र एक खेती गहुँ उत्पादन हुँदा बजारबाट चामल खरिद गर्न नपर्ने भएको ऐरावती गाउँपालिका–५ कि कृषक सम्झना राउतले बताइन् ।

गत वर्षको तुलनामा तीन हजार तीन सय ७० मेट्रिकटन बढी धान उत्पादन भएको जिल्लास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ । प्युठानका केही फाँटहरुमा सीमित सिँचाइ सुविधा उपयोग गरी कृषकले चैते धान खेती गर्न थालेका छन् ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार गत वर्ष छ हजार एक सय ६५ हेक्टर क्षेत्रफलमा १८ हजार पाँच सय ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष २१ हजार नौ सय ६७ मेट्रिकटन धान उत्पादन भएको छ ।

जिल्लामा सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम नौबहिनी गाउँपालिकामा धान उत्पादन हुने गरेको कार्यालयका कृषि अर्थ विज्ञ एवं निमित्त कार्यालय प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । जिल्लामा चैते धानखेती, उन्नत जातका बीउको प्रयोग गर्न थालिएको र मौसमले पनि साथ दिएकाले उत्पादनमा वृद्धि आएको उनको भनाइ थियो ।

श्रेष्ठले भने, “प्यूठानका किसानले उन्नत जातका धानको बीउ प्रयोग गर्न थालेका छन् । यसले गर्दा चैते धान रोपेर दुई पटक भित्र्याउन सकिन्छ ।” किसानले खेतीमा नयाँ प्रविधिको प्रयोग थालेका उनले बताए ।

जिल्लाको प्युठान नगरपालिका, मल्लरानी र ऐरावती गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको श्रेष्ठले जानकारी दिए । प्युठानमा धान उत्पादन वृद्धि तथा प्रोत्साहनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले धान जोनका रुपमा काम गर्दै आइरहेको छ ।

धान उत्पादन वृद्धिका लागि यस वर्ष एक सय ५० हेक्टर बढीमा जमिनमा चैते धान लगाउने योजना रहेको कार्यालय प्रमुख कृषि अधिकृत चुमानसिंह गिरीले बताए । उनका अनुसार जिल्लामा किसानले चैते धानका रुपमा चैते पाँच, हर्दिनाथ–एक र हर्दिनाथ–तीन, नियमित धानका रुपमा राधा–१२, राधा–१४, सावित्री, हर्दिनाथ–छ जातका धान प्रयोग गर्दै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चैते धान खेतीका लागि क्षेत्र विस्तार गरी उत्पादन बढाउन हर्दिनाथ–एक र हर्दिनाथ–तीन लाई यस वर्षदेखि विस्तार गर्न लागिएको गिरीले बताए । उनका अनुसार जिल्लामा ४२ हजार सात सय ६६ हेक्टर खेतीयोग्य जमिन भएकामा २२ हजार एक सय २५ हेक्टरमा खेती गरिन्छ । रासस

प्रकाशित : १४ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६