देश

डिग्रे मेलाको तयारी पुरा



राँझा (बाँके), १ मङ्सिर

जिल्लामा डिग्रे मेलाको तयारी पुरा भएको छ । डिग्रे मेला कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने गरिएको छ । यस वर्ष मङ्सिर ८ गते कात्तिक शुक्ल पूर्णिमा परेको छ । बाँकेको जानकी, राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विभिन्न मठ मन्दिर र नदी किनारमा कात्तिक ८ गतेबाट तीनदिनसम्म मेला लाग्ने गरेको छ । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका वडा नं २ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । यसवर्ष मङ्सिर ८ देखि तीन दिन मेला सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिनुभयो । “यो वर्ष पनि विगतका वर्षमा जस्तै भव्य रुपमा मेला सञ्चालन गर्ने तयारी गरिएको छ”, अध्यक्ष खाँले भन्नुभयो, “बाँके जिल्लाकै ऐतिहासिक मेला भएकोले यसको व्यवस्थापन तथा सुरक्षाको लागि आवश्यक तयारीको कार्यमा सबै जुटेका छौँ ।” पुराना मेलाका रुपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् । मेलामा राती सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणको लागि आफूहरुले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताउनुभयो । गुरुवा गाउँ मेलामा हुने भेडा जुधाइ प्रतियोगिता हेर्न दर्शकको घुइँचो लाग्ने गरेको स्थानीय अगुवा पूर्ववडाध्यक्ष रमेश बर्माले बताउनुभयो । जानकी गाउँपालिका–२ जोगागाउँमा पनि मेला भर्नेको भीड लाग्ने गर्दछ । मेलालाई व्यवस्थित तरिकाले सम्पन्न गर्न आवश्यक तयारी गरिएको वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जानकारी दिनुभयो । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ टिकुलीपुरमा पनि प्रत्येक वर्ष तीनदिने डिग्रे मेला लाग्दै आएको छ । मेला हेर्न हरेक वर्ष बाँके, बर्दिया, दाङलगायत भारतका विभिन्न स्थानबाट समेत हजारौँको सङ्ख्यामा दर्शकहरु पुग्ने गर्दछन् । कात्तिक पूर्णिमाका दिन डुडुवा गाउँपालिकास्थित राप्ती नदीमा स्नान गर्नेको भीड लाग्ने गर्दछ । नदीमा स्नान गर्न बाँकेलगायत विभिन्न स्थानबाट भक्तजन आउने गर्दछन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान दिने गरिएको स्थानीय अगुवा सूर्यलाल यादवले बताउनुभयो ।

प्रकाशित : २ मंसिर २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६