प्रदेश

सन २०२३ मा नेपाल आएका साढे ७ प्रतिशत पर्यटक मात्रै लुम्बिनी आए




लुम्बिनी, १७ पौष ।

नेपालको महत्त्वपूर्ण पर्यटकीय स्थल लुम्बिनीमा आउने पर्यटकहरुको संख्या पछिल्लो बर्ष केही बढको देखिएपनि नेपाल आउने पर्यटकहरुको तुलनामा उनीहरुको लुम्विनी अवलोकन खासै प्राथमिकतामा परेको भने देखिएन्।

तथ्यांकले सन् २०२३ मा तेश्रो मुलुकबाट ७६ हजार २१० जना पर्यटक लुम्बिनी आएको देखिएको छ। यो सख्या सन २०२२ को भन्दा ५२ हजार ९४२ ले बढी हो। सन २०२२ मा लुम्विनीमा ९६ मुलुकका २३ हजार ९४२ पर्यटक लुम्विनी आएका थिए।
पाँच वर्ष अगाडिको तुलनामा २०२३ मा लुम्बिनी आएका तेश्रो मुलुकका पर्यटकहरूको संख्या झन्डै एकलाखले कमी भए पनि कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रका लागि यो संख्याले केही आशा जगाएको पर्यटन ब्यवसायीहरुको भनाई छ।

यसअघि सन् २०१९ मा ११५ मुलुकबाट गरी एकलाख ७४ हजार १५ जना पर्यटक लुम्बिनी आएका थिए। कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रका लागि गतवर्षको आएका पर्यटकहरूको संख्याले केही आशा जगाए पनि नेपाल आएका पर्यटकको संख्यालाई हेर्दा लुम्बिनी आउने पर्यटकको संख्या भने अत्यन्त न्यून रहेको छ। सन् २०२३ मा तेश्रो मुलुकबाट १० लाख १४ हजार ८७४ पर्यटक नेपाल आएकोमा त्यसको साढे ७ प्रतिशत हाराहारी मात्रै लुम्बिनी आउने गरेका छन्।

यसअघि सन् २०१९ मा नेपाल आएका झन्डै साढे १४ प्रतिशत पर्यटक लुम्बिनी आएका थिए। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए भने एकलाख ७४ हजार १५ जना पर्यटक लुम्बिनी आएका थिए।

पछिल्लो १० वर्ष सन् २०१४ देखि यता लुम्बिनी आउने तेश्रो मुलुकका पर्यटकहरूको संख्या बढ्दै गएकोमा कोभिड १९ का कारण तीन वर्ष पर्यटकको आगमन ठप्प जस्तै बनेको थियो। कोभिड १९ पछि सन् २०२० मा ८३ मुलुकका ४५ हजार ३ सय २९ र सन् २०२१ मा ६८ मुलुकका जम्मा १ हजार १ सय ९७ पर्यटक लुम्बिनी आएका थिए।

यसअघि २०१४ देखि नै लुम्बिनीमा आउने तेस्रो मुलुक र पर्यटकहरूको संख्या बढ्दै गएको थियो। तर कोभिड महामारी पछि लुम्विनी आउने पर्यटकको संख्या ह्वात्तै घटेको थियो।

लुम्बिनी विकास कोषको तथ्या‌ंकअनुसार सन् २०१४ मा ८२ मुलुकका १ लाख ३३ हजार ३०८ पर्यटक लुम्बिनी आएकोमा २०१५ मा ६८ मुलुकबाट १ लाख २९ हजार १८०, २०१६ मा ८१ मुलुकबाट १ लाख ३६ हजार २५३, २०१७ मा ८९ मुलुकबाट १ लाख ४५ हजार ८१४, २०१८ मा १०८ मुलुकबाट १ लाख ६९ हजार ९०४ हुँदै सन् २०१९ मा आइपुग्दा लुम्बिनी आउने पर्यटकको संख्या १ लाख ७४ हजार १५ पुगेको थियो भने पर्यटक आउने देशहरूको संख्या पनि १ सय १५ पुगेको थियो।

अघिल्लो वर्ष २०२२ भन्दा पर्यटकको संख्या बढे पनि पर्यटकहरू आउने मुलुकको संख्या भने घटेको छ। सन् २०२२ मा ९६ मुलुकका २३९४२ पर्यटक लुम्बिनी आएकोमा २०२३ मा ८५ मुलुकका मात्रै पर्यटक आएका छन्। पर्यटकहरू आउने मुलुकको संख्या सन् २०१९ मा भन्दा गतवर्ष ३० ले कमी थियो।

२०२३ मा सबैभन्दा धेरै नोभेम्बरमा १६ हजार ४११ र अन्तिम डिसेम्बर महिनामा १३ हजार ४९९ पर्यटक लुम्बिनी आएका छन्।

त्यसअघि फेब्रुअरीमा १२ हजार ५२२, मार्चमा १२ हजार २९७, अक्टोबरमा ९ हजार ३७४, सेप्टेम्बरमा ५ हजार ४०६, जनवरीमा ३ हजार ९८७, अप्रिलमा ३ हजार ९४२, अगष्टमा ३ हजार ५४५, मे मा १ हजार ६६५, जुलाईमा १ हजार ३९३ र सबैभन्दा जुनमा १ हजार १९१ जना पर्यटक लुम्बिनी आएका थिए।

लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतका अनुसार सन् २०२३ मा तेश्रो मुलुकबाट सबैभन्दा बढी श्रीलंकाका १६ हजार १७२ जना पर्यटकले लुम्बिनी अवलोकन गरेका छन्। त्यस्तै, थाइल्याण्डका १५ हजार ७२१, भियतनामका १० हजार ४१४, चिनिया ६ हजार ११३, दक्षिण कोरियाका ५ हजार ३०२, जर्मनी २ हजार १९८ र १ हजार ६७८ अमेरिकी पर्यटक लुम्बिनी आएका छन्।

गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा बेलायत, ताइवान, सिंगापुर, रसिया, म्यानमार, मलेसिया, जापान, इटली, इण्डोनेसिया, फ्रान्स, क्यानडा, कम्बोडिया, अष्टेलियाबाट आउने पर्यटकहरूको संख्या धेरै हुन्छ।

त्यस्तै अर्जेन्टिना, अर्मेनिया, बेल्जियम, बुल्गेरिया, ब्राजिल, चिली, कोष्टारिका, क्रोएटिया, साइप्रस, इजिप्ट, इष्टोनिया, इक्वेडर, घाना, ग्वाटेमाला, इरान, केन्या, लिबिया, लाओस्, उरूग्गे, स्विटजरल्याण्ड, स्विडेन, सुडान, स्लोभेनिया लगायतका मुलुकका पर्यटक समेत आउने गर्छन्।

सन् २०१९ को तुलनामा २०२३ मा तेस्रो मुलुकका पर्यटकहरूको संख्या कम भए पनि लुम्बिनी आउने भारतीय पर्यटक भने बढेका छन्। सन् २०१९ मा २ लाख ६ हजार १७१ भारतीय पर्यटक लुम्बिनी आएकोमा २०२३ मा २ लाख ६६ हजार ५१० जना भारतीय पर्यटकले लुम्बिनी अवलोकन गरेका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो। सन् २०२२ मा पनि २ लाख ३० हजार ८६३ भारतीय पर्यटक लुम्बिनी आएका थिए।

तेस्रो मुलुकका मात्र होइन लुम्बिनी आउने आन्तरिक पर्यटकहरूको संख्या पनि सन् २०१७ भन्दा गत वर्ष झन्डै आधाले घटेको छ। लुम्बिनी विकास कोषको तथ्या‌ंकअनुसार २०१७ मा १२ लाख ५१ हजार ३४६ आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। सन् २०२३ मा भने जम्मा ६ लाख ५६ हजार २१८ आन्तरिक पर्यटक लुम्बिनी आएका छन्।

यसअघि २०१९ मा ११ लाख ७८ हजार १४० आन्तरिक पर्यटकले लुम्बिनी अवलोकन गरेका थिए भने २०२२ मा पनि ६ लाख ४९ हजार ७८ जना लुम्बिनी आएका थिए। २०२० मा भने आन्तरिक पर्यटकको संख्या पनि जम्मा २ लाख १० हजार ३३ पुगेको थियो।

प्रकाशित : १७ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६