प्रदेश

भैरहवामा महिलालाई उद्यमी बनाउन राष्ट्रिय सम्मेलन



भैरहवा, ०३ फागुन। उद्यमशीलतामा महिला सहभागिता बढाउने लक्ष्यसहित भैरहवामा हुन लागेको ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’ को तयारी पूरा भएको छ । ‘महिलालाई लगानी, घर–घरमा उद्यमी’ नाराका साथ भैरहवामा शुक्रबारदेखि दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’ हुन लागेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको अगुवाइमा हुने सम्मेलनको तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

महासङ्घको महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठका अनुसार सम्मेलनले उद्यमशीलतामा महिला सहभागिता बढाई महिला उद्यमीको सशक्तीकरणमा जोड दिएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा आयोजित पत्रकार सम्मेलनमा नेपालका ७७ वटै जिल्लाबाट दुई सय ५० देखि तीन सय जना महिला उद्यमी व्यवसायी तथा व्यवसाय सञ्चालनका लागि इच्छुक महिलाको सहभागिता रहने जानकारी दिइएको छ । सभापति श्रेष्ठले समितिले पहिलो पटक यो सम्मेलनको आयोजना गरेको र आगामी वर्षदेखि प्रत्येक वर्ष सातवटै प्रदेशमा सञ्चालन गरिने बताउनुभयो ।

‘‘घरायसी कामकाजमै सीमित हुने गरेका महिलालाई उद्यमी बन्ने अवसर प्रशस्त हुँदा पनि महिला उद्यमीको रुपमा अगाडि बढ्न सकेका छैनन्’’, श्रेष्ठले भन्नुभयो, ‘‘उद्यमशीलताका लागि अवसर दिइँदा पनि घरबाट निस्किन नचाहने र निस्कन चाहे पनि एक्लै आउन नचाहने समस्या छ ।’’ उहाँले त्यस्ता महिलालाई सशक्तीकरण गराई शिक्षासहितको आत्मबल प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

उहाँका अनुसार, सम्मेलनमा सहभागी महिला उद्यमीबिच भेटघाट र परिचयको माध्यमबाट आपसमा नेटवर्क तयार पारिनेछ र आफूले उत्पादन गर्ने बस्तुको बारेमा चिनारी गराई ती वस्तुको बजारीकरण गराउने उपयायको खोजी गरिनेछ । वित्तीय व्यवस्थामा अझै पनि महिलाको पहुँच हुन नसकेकाले महिला उद्यमशीलता बढ्न नसकेको यथार्थताका बारेमा व्यापक छलफल गरी समाधान खोजिनेछ ।

महिला उद्यमशीलता र नतिजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौती तथा युवा महिला उद्यमको स्टार्टअपका लागि गरिएका पहल साथै भएका विषय लगायतका पाँचवटा विषयमा विज्ञसहितको घुट्टाछुट्टै प्यानलमा छलफल गरिने छ । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मेलनबाट प्राप्त नतिजालाई दस्ताबेजको रुपमा नेपाल सरकारसमक्ष बुझाइने बताउनुभयो । उहाँले यो सम्मेलनले उद्यमशीलतामा महिलालाई प्रोत्साहित गरी औपचारिक अर्थतन्त्रमा न्यून हिस्सा रहेको महिला उद्यमीको सङ्ख्यामा उल्लेख्य सुधार ल्याउने दाबी गर्नुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले स्वदेशमा अवसर नेदेखेर विदेशिन खोजेका युवतीलाई स्वदेशमै उद्यमशीलताको सम्भावनाको बाटो देखाउँदै विदेश पलायन हुने प्रवृत्तिमा सुधार ल्याउन यो सम्मेलन गरिएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सहकार्यमा सम्मेलन हुन लागेको हो ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६