प्रदेश

नेपालगन्ज–जनकपुर हवाई उडान सुरु



नेपालगन्ज, ०५ फागुन । आन्तरिक धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पहिलो पटक लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेश प्रदेशको राजधानी जनकपुरका लागि हवाई उडान सुरु गरिएको छ ।

यति एयरलाइन्सले सुरु गरेको पहिलो प्रवर्द्धनात्मक उडान शनिवार दिउँसो नेपालगन्ज विमानस्थलबाट २ बजेर ४० मिनेटमा भएको यति एयरलाइन्सले जनाएको छ ।

जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर सिधा हवाई उडान सुरु गरिएको यति एयरलाइन्स नेपालगन्जका प्रमुख दिलीप कार्कीले बताउनुभयो ।

उहाँले निकै उत्साहका साथ सुरु भएको उडानको पहिलो खेपमा ७२ जना यात्रु र एक जना बच्चासहित जहाज जनकपुर प्रस्थान गरेको र शनिबार नै सो जहाज नेपालगन्ज फर्कने कार्यक्रम रहेको बताउनुभयो ।

जनकपुरका लागि गरिएको पहिलो प्रवर्द्धनात्मक उडानमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेश सभाका सदस्य अम्बिका काफ्ले, बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथ, नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामी, पूर्व अध्यक्षहरू नन्दलाल वैश्य र कृष्णप्रसाद श्रेष्ठसहित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल जनकपुर जानुभएको छ ।

उडान सुरु हुनुअघि आयोजना गरिएको एक संक्षिप्त कार्यक्रममा प्रदेशका सहरी विकास मन्त्री केसीले यो उडानले देशका दुई ऐतिहासिक धार्मिक सहरबिच सम्बन्ध जोड्नुका साथै आन्तरिक पर्यटन प्रवर्धनमा ठुलो टेवा दिने बताउनुभयो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाइन्सले यो उडान गरेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । उडानका लागि यति एयरलाइन्सले एकतर्फी भाडा आठ हजार ५०० निर्धारण गरेको छ ।

प्रकाशित : ५ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६