देश

कर्णाली पुलको अध्ययन र मर्मत सम्भारको लागि जनशक्ति अभाव



काठमाण्डौ, ०१ चैत्र । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्णाली चिसापानी पुलको अध्ययन र मर्मत सम्भारको लागि नेपालमा जनशक्तिको अभाव रहेको छ । पुल जापान सरकारले बनाइदिएको र अमेरिकाको इञ्जिनियरिङ प्रयोग भएकाले नेपालमा यसको अध्ययन र मर्मत सम्भारका लागि विज्ञ र कामदारको समेत अभाव रहेको सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखाका प्रमुख ललिजन खनालले उज्यालोलाई जानकारी दिनुभयो । २०५० सालमा पुल निर्माण गर्दा प्राविधिक जनशक्ति र मर्मत सम्भारकोबारेमा जापानसँग कुनै सम्झौता नभएकाले अहिले समस्या भएको उहाँको भनाइ छ ।

यसैबीच, सडक विभागको प्राविधिक टोलीले आगलागीबाट क्षति भएको कर्णाली चिसापानी पुलको स्थलगत अवलोकन र अध्ययन सकेको छ । टोलीले हिजो बेलुका अवलोकन र प्रारम्भिक अध्ययन सकेको र आज प्रतिवेदन बनाएर बेलुकासम्म विभागलाई बुझाउने उपमहानिर्देशक तथा पुल महाशाखाका प्रमुख ललिजन खनालले उज्यालोलाई जानकारी दिनुभयो ।

टोलीले पिलर र पुललाई जोड्ने तार, गाडी गुड्ने सतह र पुललाई टेवा दिएका संरचनाको अध्ययन गरेको छ । प्रारम्भिक अध्ययनमा तारलाई सुरक्षित राख्न प्रयोग भएका रबर मात्रै जलेको र तार सुरक्षित रहेको देखिए पनि विस्तृत जानकारी भने प्रतिवेदनपछि मात्रै पाइने खनालको भनाई छ । उहाँले अझै एक,दुई दिन कर्णाली चिसापानी पुलबाट गाडी नचल्ने पनि जानकारी दिनुभयो ।

यसको विकल्पमा कोठियाघाट र सतिघाटको पुल प्रयोग गरेर गाडी चलिरहेका छन् । प्रतिवेदनको अध्ययन र विज्ञ लगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा थप के गर्ने भन्नेबारे निर्क्यौल हुने खनालले बताउनुभयो । गएको सोमवार ट्रकमा एक्कासी आगलागी हुँदा कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो ।

प्रकाशित : १ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६