कपिलवस्तु, ०९ चैत्र ।
नेपाल सरकारका खानेपानी मन्त्री राजेन्द्र कुमार राईले बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको नवनिर्मित ओभर ट्यांकीको पम्प हाउस तथा बोरिङको शिलान्यास गर्नुभएको छ । शिलान्यास गर्दै मन्त्री राईले बाणगंगा खानेपानी तथा सरसफाई संस्था जिल्लाकै उत्कृष्ट खानेपानी संस्था हुन लागेकोले आफुले उचित प्राथमिकतामा राख्ने बताउनुभयो । संस्थाले उठाएका मागहरु पुरा गर्ने बताउँदै मन्त्री राईले कपिलवस्तुका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीसंग समन्वय गरि यस संस्था लगायत अन्य खानेपानीलाई दिर्घकालीन रुपमा व्यवस्थित गर्ने बताउनुभयो । मनकामना संस्कृत विद्या पिठ गुरुकुलमका बटुकद्धारा स्तुतिवाचन र संस्थाका पदाधिकारी, सदस्यहरु र उपसमितिले पुष्प गुच्छा सहित मन्त्री राईलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थी, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल लगायतले बाणगंगा खानेपानीले खानेपानीको क्षेत्रमा प्रविधियुक्त र शुद्ध पानी उपलब्ध गराउने कार्यमा उत्कृष्ट कार्य गरेको बताउँदै आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष बिश्व कार्कीले संस्थालाई अझ व्यवस्थित बनाउनका लागि विभिन्न दिर्घकालीन योजनाहरुको माग गर्नुभएको छ । खानेपानी उपभोक्ता तथा सरसफाई महासंघका अध्यक्ष समेत रहनुभएका कार्कीले ढल ब्यवस्थापन कार्य बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको कार्यक्षेत्रबाट हुनुपर्ने बताउदै जिल्लाका समग्र खानेपानीका माग राख्नुभयो । उहाँले पानीमा रहेको चुनको समस्या दिर्घकालीन समाधान गर्नुपर्ने माग राख्दै पानीको सतह घट्दै गएकाले यसको समाधानका लागि रिचार्ज पोखरी आवश्यक रहेको बताउनुभयो । अध्यक्ष कार्कीले खानेपानी संस्थाहरु प्रविधिमय हुनुपर्नेमा जोड दिंदै अन्य धेरै खानेपानीहरुको ओभर ट्यांकी भए पाईप लाईन नबिछ्याउने, पाईप लाईन बिछ्याए ट्यांकी नहुने जस्ता समस्या रहेकोले यसलाई समाधान गर्न मन्त्री राईलाई अनुरोध गर्नुभयो ।
उहाँले उपभोक्ताको घरघरमा पानीको धारा पग्नुपर्ने बताउँदै खानेपानीमा चर्को विद्युत महशुल घटाउनुपर्ने र उपभोक्तालाई सहज रुपमा सुपथ मुल्यमा शुद्ध पानी वितरण गर्नुपर्नेमा जोड दिंदै प्रभावकारी सेवाका लागि संस्थाको कार्यालय भवनको तला थप र सभाहलको व्यवस्था हुनुपर्ने माग राख्नुभयो ।
संस्थाका अध्यक्ष कार्कीको अध्यक्षता, संघीय खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, सह सचिव नवराज सापकोटा, संघीय खानेपानी तथा ढल व्यबस्थापन विभागका महानिर्देशक (डिजी) कमलराज श्रेष्ठ, नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष डम्मर शर्मा, वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेल, कपिलवस्तु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उमानाथ पौडेल, संघीय खानेपानी तथा ढल व्यबस्थापन कार्यालय बुटवलका प्रमुख (डिई) बिनोद कुमार भुजेल, मनकामना सामुदायिक वनका अध्यक्ष मुक्त कार्की, मनकामना धार्मिक वनका अध्यक्ष बुद्धिराम घिमिरे, कल्याणेश्वर टोल विकास संस्थाका अध्यक्ष दिपक भुसाल लगायत स्थानीय, संस्था र उपसमितिका पदाधिकारी तथा सदस्य, कर्मचारीको उपस्थिती रहेको कार्यक्रम संस्थाको कार्यालय प्रमुख अनिमा खरेलको स्वागत तथा सस्थाका सचिव हिमलाल अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया