प्रदेश

भारी वर्षाले बुटवलका विभिन्न क्षेत्र डुवानमा



बुटवल, ३० वैशाख ।

गएरातिदेखि परेको भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुवानमा परेका छन् । भारी वर्षाल अमरपथ क्षेत्र जलमग्न भएको छ भने केही घर तथा बस्तीहरुमा पानी पसेको छ । अविरण वर्षाले डुवान भएपछि न्यू होराइजन इ®लिश बोर्डिङ स्कुलले आज बिदा दिएको छ ।

अन्य विद्यालयहरु पनि प्रभावित भएका छन् । सोह्रछत्तिस कुलोको छेलमा रहेको सो स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरु डुबेका छन् भने मैदानभर सबै लेदोले भरिएको छ ।

वडा नं ११ मा पर्ने सो क्षेत्रमा रहेको कुलो थुनिएर बाढी पसेको र अन्य घरहरु डुबान परेको स्थानीयले जनाएका छन् । त्यसैगरी यहाँस्थित राससको प्रदेश कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय सबै डुबानमा परेका छन् ।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले फूलबारी क्षेत्र, रासस कार्यालय वरिपरी र न्यू होराइजन स्कुल क्षेत्रमा रातीदेखि परेको ठूलो पानीका कारण डुबानमा परेको र अधिकांश ठाउँमा अहिले कम भइसकेको जनाएका छन् ।

रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले कार्यालयको तल्लो तलामा पूरै लेदोले भरिएर पस्न नमिल्ने भएकाले कार्यालय सार्न थालिएको बताए । राससका प्रमुख भरत केसीले पानीले पूरै कार्यालय जलमग्न भएर बाहिर बसेको जनाए ।
स्थानीय उद्यमी चन्द्र खनालले धेरै समयदेखि टोलविकास संस्थाहरुर्ले प्लास्टिकजन्य वस्तु जथाभावी नफाली नालाहरुमा नियमित सरसफाई अभियान चलाएको भए यस्तो क्षति नहुने भन्दै अब सर्तक रहन सुझाएका छन् ।

बुटवलका इन्जिनियर गौतम रौनियारले सोह्रछत्तिस कुलोमा रहेको गेट बन्द भएकाले यति ठूलो समस्या आएको र आफ्नो घर पनि डुबानमा परेको बताएका छन् ।

उद्योगी अशोक कुँवरले आफ्नो उद्योगमा भएको डुबानले ठूलो क्षति भएको बताए । कालिकानगरस्थित शुभनारायणी फर्निचर उद्योगमा रहेको करिब ५ लाखको सबै प्लाइउड नोक्सान भएको उनले बताए । कुलोको पानी सबै फर्केर घरपसलमा पुगेको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले वर्षातकै सुरुमै यस्तो समस्या नाली थुनिएरै भएकाले सचेत रहनुपर्ने बताए ।

प्रकाशित : ३० बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६