प्रदेश

कपिलवस्तुका किशोरीहरूमा रक्तअल्पताको उच्च जोखिम



तौलिहवा, ३१ वैशाख। कपिलवस्तुका किशोरीहरू रक्तअल्पताको उच्च जोखिममा रहेका छन् । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा किशोरीका लागि आइरन तथा फोलिक एसिड वितरण कार्यक्रम प्रभावकारी नहुँदा यस्तो समस्या देखा परेको हो ।

सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ मा अध्ययनरत १२ वर्षदेखि १९ वर्ष उमेरका किशोरीको रगत परीक्षण गर्दा यस्तो तथ्य बाहिर आएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले गत वर्ष फागुन १ देखि चैत १ सम्म जिल्लाका १० पालिकाका २४ विद्यालयका चार हजार ७३४ किशोरीको साइनमेथ विधिबाट हेमोग्लोबिन परीक्षण गर्दा दुई हजार ५९ बालिकामा रक्तअल्पताको समस्या रहेको तथ्य बाहिर आएको हो । परीक्षणका क्रममा ४९ जना सात प्रतिशतभन्दा कम हेमोग्लोबिन देखिएको थियो । शरीरमा ११ ग्राम प्रतिशतभन्दा कम हेमोग्लोबिनको मात्रा रहेमा त्यस्तो व्यक्ति रक्तअल्पताको समस्यामा र सात प्रतिशत ग्रामभन्दा कम हेमोग्लोबिन भएका सिबियर रक्तअल्पता भएको बुझिन्छ ।

किशोरीका लागि आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम अन्तर्गत किशोरीलाई हप्तामा एक पटक आइरन ६० मिग्रा र फोलिक एसिड चार सय मिग्राको एउटा चक्की खुवाउने गरिन्छ । यसमा किशोरीलाई तालिका अनुसार १३ हप्ता खुवाएपछि १३ हप्ता नखुवाउने र १३ हप्ता खुवाउने गरिन्छ ।

जिल्लामा वर्षौंदेखि आइरन चक्की निःशुल्क बाँडिए पनि रक्तअल्पता रोगीको सङ्ख्या बढ्दै गएको देखिन्छ । स्वास्थ्यकर्मीका अनुसार खानामा हरियो सागपात, तरकारी र कलेजो जस्ता फलाम पाइने खाद्यवस्तु समावेश नहुनु वा नखानुले यस्तो समस्या देखिएको हो । अमला, कागती, भोगटे, सुन्तला जस्ता भिटामिन ‘सी’ भएका खाना र अन्य अमिला फलफूल कम खानु पनि प्रमुख कारण रहेको देखिन्छ । रक्तअल्पताको समस्यालाई हटाउन जिल्लाभरका सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा आइरन चक्की बाँडिने गरिएको छ । यस्तै विद्यालयमा समेत निःशुल्क रूपमा आइरन चक्की बाँड्ने गरिएको छ ।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६