प्रदेश

गणतन्त्रको रक्षा गर्न सामूहिक प्रयास आवश्यक



देउखुरी, १६ जेठ । मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक स्वार्थ नभई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको शक्ति भएको बताउनुभएको छ ।

१७ औँ गणतन्त्र दिवसका अवसरमा प्रदेश सरकारले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले सामूहिक प्रयास र सहकार्यबाट राजनीतिक व्यवस्था परिवर्तन गर्न सकिएको बताउनुभयो ।

मुख्यमन्त्री महराले भन्नुभयो, “व्यवस्थामा हुने परिवर्तनले आमजनताको अवस्थामा परिवर्तन ल्याउन सकिएन भने त्यसले राजनीतिक व्यवस्था परिवर्तनको अभीष्‍ट पूरा हुन सक्दैन, गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा देखिएका अस्पष्‍टताको फाइदा उठाउँदै व्यवस्थालाई नै असफल पार्न कोसिस भइरहेको छ, यसमा गम्भीर हुनु पर्छ ।”

उहाँले सङ्घीय गणतन्त्र खतरा होइन, यसमा नयाँ आयाम थप्दै जान नसके चुनौती थपिने धारणा राख्नुभयो  । केन्द्रको सत्ता परिवर्तनले प्रदेशमा पनि सत्ता फेरबदल भएको बताउँदै उहाँले थप्नुभयो, “पुरानो सरकारले गरेका राम्रो कामलाई निरन्तरता दिनु पर्छ ।”

प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले लुम्बिनी विवादरहित प्रदेश भएकाले काम गर्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य प्रदेशमा विभिन्न विषयमा एक दलले अर्कोलाई तथा सरकार पक्षलाई प्रतिपक्षले निवेदन लिएर न्यायालय धाइरहेको सुनिन्छ, राजनीतिक सुझबुझका कारण लुम्बिनीमा त्यस्तो समस्या आएको छैन ।”

कर्मचारीले राष्ट्रसेवक अनुशासनका रूपमा काम गरेर गणतन्त्र संस्थागत गर्न सहज भएको उहाँले बताउनुभयो । निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गणतन्त्रको उपलब्धि सङ्घीयता भएको बताउनुभयो ।

“सङ्घीयताको काम छैन भनेको पनि सुनिन्छ, सङ्घीयता बलियो बनाउन सबै राजनीतिक दलको सामूहिक प्रयास र सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गणतन्त्र केही सीमित व्यक्तिका लागि आएको हो कि भन्ने प्रश्न उठेको भन्दै भौतिक विकासले मात्र प्रदेश समृद्ध नहुने भएकाले मानवीय विकासमा जोड दिनुभयो ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६