समाचार

जेनजी प्रदर्शनमा ज्यान गुमाएका चार जनाको अन्त्यष्टि



काठमाडौँ, ३१ भदौः

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेमध्ये चार जनाको आज पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिएको छ । आज काठमाडौँका रसिक खतिवडा, ललितपुरका विनोद महर्जन, दीपेश सुनुवार र कैलालीका गौरव जोशीको अन्त्यष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदर्शनका क्रममा ज्यान गुमाएको छ जनालाई भने नेपाली सेनाको स्काइ ट्रकमार्फत सम्बन्धित जिल्लामा पठाइएको छ ।

आज गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदहरूलाई राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । 

प्रदर्शनमा ज्यान गुमाएकाहरुको शव त्रिवि शिक्षण अस्पतालबाट महाराजगञ्ज, चावहिल, गौशाला हुँदै आर्यघाटसम्म लगिएको थियो । सरकारले सोमबार मृतकका परिवारलाई काजकिरियाका लागि रु एक लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

जेनजी प्रदर्शनका क्रममा निधन भएकालाई सरकारले सहिद घोषणा गर्दै उनीहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि निर्णय गरिसकेको छ । उनीहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाइने भएको छ ।

प्रदर्शनका क्रममा ज्यान गुमाएका उदयपुरका सारकुमार राई, सन्तोष विक, धनकुटाका छत्रमान कुथुमी, शङ्खुवासभाका प्रवीण कुलुङ्ग, सिरहाका विजय चौधरी तथा साजन राईलाई शव अन्तिम दाह संस्कारका लागि नेपाली सेनाको स्काइ ट्रकद्वारा सम्बन्धित जिल्लामा पु¥याइएको प्रहरीले जनाएको छ ।

यही भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेका सङ्ख्या ७३ पुगेको प्रहरीले जनाएको छ । जसमध्ये प्रहरीतर्फ तीन जनाको मृत्यु भएको छ ।

प्रकाशित : १ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६