देवदह (रुपन्देही), ४ असोजः
पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ । शर्माको ५२ वर्षको उमेरमा आज निधन भएको लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेले जानकारी दिनुभयो । पत्रकार शर्माको उपचारका क्रममा भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा निधन भएको हो । रुपन्देहीलाई कर्मथलो बनाई विगत दुई दशकभन्दा लामो समयदेखि उहाँले पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँ कारोबार दैनिक र न्यूज ओके साप्ताहिक पत्रिकामा आबद्ध हुनुहुन्थ्यो । पाल्पामा रहेर नेपाल वान टेलिभिजनमार्फत शर्माले पत्रकारिता सुरु गर्नुभएको थियो । पछि रुपन्देही कार्यक्षेत्र बनाएर उहाँले पत्रकारिता गर्न थाल्नुभयो ।
शर्मा विगत दुई वर्षदेखि क्यान्सरबाट ग्रसित भई उपचाररत हुनुहुन्थ्यो । लुम्बिनी प्रेस क्लबका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार शर्माका श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ । पारिवारिक स्रोतका अनुसार स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दीघाटमा आइतबार उहाँको दाहसंस्कार गरिनेछ । पत्रकार शर्माको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासङ्घ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले बताउनुभयो । शर्माको निधनप्रति विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।








प्रतिक्रिया